काठमाडौं । वेस्ट इन्डिजको किंग्सटाउनमा शनिबार भएको आईसीसी क्रिकेट टी–२० विश्वकपमा दक्षिण अफ्रिकाविरुद्धको खेलमा १ रनले हारेपछि नेपाली क्रिकेट टोलीले इतिहास रच्ने अवसर गुमाउँदै गएको छ। यो खेलमा जितेको भए नेपालले पहिलोपटक टेस्ट खेल्ने टोलीमाथि जित्ने ऐतिहासिक उपलब्धि हासिल गर्थ्यो । यद्यपि नेपालले बंगलादेशविरुद्धको खेलमा जित हासिल गरेमा सो उपलब्धि प्राप्त हुने अवसर बाँकी नै छ।
यस नतिजाले नेपाललाई जारी क्रिकेट टी–२० विश्वकपमा सुपर ८ मा पुग्ने सम्भावनासमेत समाप्त गरिदियो । सुपर–८ मा पुग्न नसक्दा नेपालले आगामी २०२६ को टी–२० विश्वकपमा सोझै खेल्ने मौकासमेत गुमायो । जारी विश्वकपअन्तर्गत सुपर–८ मा पुग्ने टोलीले दुई वर्षपछि हुने टी–२० विश्वकपमा सोझै खेल्ने पाउनेछन् । सुपर ८ मा नपुगेपछि नेपालले अब, एसियाको छनौट चरण खेल्नुपर्ने भएको छ।
नेपालले पहिले घातक बलिङ गरेर दक्षिण अफ्रिकाजस्तो विश्वकै उत्कृष्ट टोलीलाई १ सय १५ रनमै खुम्च्यायो । जसमा, दीपेन्द्रसिंह ऐरीले ३ तथा कुशल भुर्तेलले ४ विकेट लिएर जितको लागि १ सय १६ रनको सामान्य लक्ष्य तयार पारिदिए । तर, नेपालको ब्याटिङ १ सय १४ रनमा रोकियो । योसँगै जारी विश्वकपमा दोस्रोपटक दक्षिण अफ्रिका भाग्यमानी ठहरियो । यसअघि बंगलादेशविरुद्धको खेलमा दक्षिण अफ्रिकाले मात्र १ सय १३ रन रक्षा गरेर ४ रनको जित निकालेको थियो । यसपटक भने मात्र एक रनको जित निकाल्यो ।
यो नतिजासँगै समूह डी मा दक्षिण अफ्रिकाले सबै चार खेल जित्न सफल भयो । अंकतालिकामा बंगलादेशको ४ अंक छ भने नेदरल्यान्ड्सको २ अंक तथा नेपाल र श्रीलंकाको १–१ अंक रहेको छ । नेपालले सुपर ८ को सम्भावनालाई जीवित राख्न यो खेल जित्नै पर्ने थियो । तर, जित्न सकेन । आजको नेपाल समाचारपत्र दैनिकबाट