अछाम । कर्णालीको पुलको लट्ठा चुँडिएपछि पुल पार गर्दै गरेका मध्ये १३ वटा खच्चड पुलकै बिचमा अड्किए । स्थानीय स्रोत साधन अभावले खच्चडको उद्धार सम्भव भएन । तर इलाका प्रहरी कार्यालय कालेकाडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक रामसिंह फरालले आफूलाई जोखिममा राखेर खच्चड बचाउनुभयो । आज उहाँले गरेको कार्यको सबैले प्रशंसा गरेको छ ।
लङलाइन गरेर (डोरीको सहायताबाट उद्धार) उद्धार गर्न सकिने प्रशस्तै व्यवस्था भए पनि राज्य स्तरबाट कुनै पनि सहयोग नभएपछि असई रामसिंहले पुलको बिचमा अड्किएको १३ वटा खच्चडको ज्यान बनाउन सफल हुनुभयो ।
गत आइतबार दिउँसो कर्णाली नदी माथिको झोलुङ्गे पुलमा खच्चड फसेको समाचार देशभर भाइरल भएको थियो । अछामको पञ्चदेवल विनायक नगरपालिका ९ कालेकाडाबाट दैलेखको आठविस नगरपालिका ४ खिड्किज्यूलामा खाद्यान्न लिन गएका १३ खच्चड झोलुङ्गे पुलको लट्ठा चुँडिएर फसेको थियो ।
उहाँको अगुवाइमा करिब पाँच घण्टा पछि खच्चडको उद्धार भयो तर खच्चडलाई पुलबाट खोलामा फालिएको थियो । पुलको जालीमा अड्किएका १३ मध्ये ११ खच्चडको उद्धार भयो भने दुई वटा खच्चड पुलबाट खसेर मरेका थिए । उद्धारमा दर्शकका रूपमा जिल्लाका उच्च ओहोदाका कर्मचारीदेखि सर्वसाधारणको उपस्थिति थियो । अछाम र दैलेखबाट जनपथ प्रहरी, अछामबाट सशस्त्र प्रहरी र स्थानीयले उद्धारमा सहयोग गरेका थिए ।
सबैको योगदान भए पनि उद्धारमा ज्यान बाजी राखेर असई रामसिंह फरालले आँट नगर्ने हो भने उद्धार सम्भव नभएको स्थानीय प्रत्यक्षदर्शीहरूको भनाई छ । उहाँको साहसलाई सबैले सम्मान गरेका छन् । असई फराल भन्नुहुन्छ, सुरुसुरुमा कसरी खच्चड निकाल्ने भन्ने मेसो नै भएन, जब खच्चडहरू पीडाले छटपटेको देखेँ तब मेरो मनले मानेन । अनि मैले कुनै सुरक्षा विना नै पुलमा एक हातले झुन्डिएर उद्धारमा खटेँ ।
उद्धारमा खटिएका साथीहरूले धेरै जोखिम नगर्न सुझाव दिए पनि फरालको मनले मानेन, उहाँको जवाफ थियो आँखै अगाडि मर्न कसरी दिनु । आजको गोरखापत्र दैनिकबाट