बैंकर पक्राउ प्रतिशोध कि कैफियत !

15.9k Shares

काठमाडौं‘ - पहिला सुन अनि थुन’ भन्दै बैंकरहरूले सरकारको ध्यानाकर्षण गराउँदै आए पनि बैंकरहरू पक्राउ पर्ने क्रम भने रोकिएको छैन । पछिल्लोपटक तत्कालीन सेन्चुरी कमर्सियल बैंकका अध्यक्षसहित ९ जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ऋण प्रवाहमा कैफियत गरेको आरोपमा पक्राउ गरेको छ । सीआईबीले सेन्चुरी बैंकका तत्कालीन अध्यक्ष राजेश श्रेष्ठसहित सञ्चालक समितिका सदस्यहरूलाई पक्राउ गरेको हो ।

यसअघि गत फागुनमा तत्कालीन सेन्चुरी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज न्यौपाने, पूर्वसीईओ तुलसी गौतमसहितका १० जना कर्मचारीलाई पनि सीआईबीले पक्राउ गरेको थियो । कर्मचारी पक्राउ परेपछि बैंक तथा वित्तीय संस्थाका छाता संगठनले बैंकरको मानसिक तथा सामाजिक अवस्थामा गम्भीर असर पुग्ने काम भएको भन्दै विरोध जनाएका थिए । बैंकर्सले बैंकिङ कसुरसँग सम्बन्धित अनुसन्धान प्रक्रियामा ‘पहिला सुन अनि थुन’ हुनुपर्नेमा ‘पहिले थुन अनि सुनको’ प्रक्रियाले बढावा पाएको बताएका थिए । साथै त्यसमा नेपाल राष्ट्र बैंकले समेत असन्तुष्टि जनाएको थियो । गत चैतमा उनीहरू हाजिर जमानीमा छुटेका थिए ।

अहिले सोही प्रकरणमा सीआईबीले तत्कालीन अध्यक्ष श्रेष्ठसहित सञ्चालक समितिका सदस्यहरू सुनिलकुमार न्यौपाने, प्राडा गीताभक्त प्रधान, रमेशकुमार निरौला, रणबहादुर श्रेष्ठ, राजेशकुमार दली, उमाकुमारी श्रेष्ठ र सीडीए सेक्सन प्रमुख शिवगोपाल रिसाललाई सोमबार पक्राउ गरिएको सीआईबीका प्रवक्ता एसपी होविन्द्र बोगटीले जानकारी दिनुभयो । सीआईबीले नेपाल राष्ट्र बैंकसँगको समन्वय बैंक सञ्चालकहरू पक्राउ गरेको दाबी गरे पनि राष्ट्र बैंक अधिकारीहरू यसमा खुल्न चाहँदैनन् । नेपाल समाचारपत्रसँगको अनौपचारिक कुराकानीमा भन्छन्– ‘नियमक निकायले वित्तीय अपराधका विषयमा अनुसन्धान नगर भन्न मिलेन । अनुसन्धान गर्न सहमति दिँदा वित्तीय क्षेत्रमा आतंक नै मच्चिएको छ ।’

एसपी बोगटीका अनुसार देउराली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रविन्द्र चौलागाईंसँगको मिलेमतोमा कम्पनीमा कमसल धितो राखेर २ अर्ब ११ करोडभन्दा बढी रकम प्रवाह गरेको अभियोग सीआईबीले पक्राउ गरेको हो ।

चौलागाईंले पूजा मार्केटिङ, पूजा ट्रेडिङ एन्ड मार्केटिङ, थ्री ब्रदर्स मार्केटिङ र अन्नपूर्ण डिस्टिलरी प्रालिलगायतका कम्पनीका नाममा १ अर्ब १४ करोड २३ लाख ८४ हजार २ सय ५८ रुपियाँ धितोको मूल्यांकन गरेर २ अर्ब ११ करोड ६५ लाख ५५ हजार ७ सय ३१ रुपियाँ अर्थात् धितोको मूल्यांकनभन्दा ९७ करोड ४१ लाख ७० हजार ७ सय ७२ रुपियाँ अधिक कर्जा प्रवाह भएको प्रहरीको दाबी छ । अहिले सो ऋणको साँवा ब्याज गरी ४ अर्ब रुपियाँभन्दा माथि पुगेको छ । आजको नेपाल समाचारपत्र दैनिकबाट 

सम्बन्धित समाचार