भारतमा हराएका बंगलादेशका सांसदको हत्या भएको खुलासा !

12.1k Shares

कोलकाता । निजी भ्रमणका क्रममा भारत गएका बंगलादेशको सत्तारुढ पार्टीका सांसद अनवारुल अजीमको सुनियोजित तरिकाले हत्या भएको बंगलादेशका गृहमन्त्री असदुज्जमान खानले बताएका छन् ।  

उक्त मामिलामा तीनजनालाई पक्राउ गरिएको समेत उनले जनाएका छन् । गृहमन्त्री खानले बुधबार ढाकास्थित आफ्नो निवासमा पत्रकार सम्मेलनको आयोजना गरी भनेका थिए, “यो हत्या सुनियोजित तरिकाबाट भएको छ । बंगलादेश प्रहरीले यो मामिलामा तीन व्यक्तिलाई गिरफतार गरेको छ । उनीहरूसँग सोधपुछ भइरहेको छ ।” 

उक्त प्रकरणमा भारतीय प्रहरीले पनि सहयोग गरिरहेको उनले जनाएका छन् । यसअघि कोलकातामा विधान नगर प्रहरीका उप–उच्चायुक्त मानव शृंगलाले बीबीसीसँग १३ मेका दिन सांसद चढेको गाडीका चालकसँगको बयानमा सांसदसँगै गाडीमा चढेको व्यक्तिले सांसदको हत्या गरेर शव टुक्राटुक्रा पारेर फालेको बताएको जनाएका छन् ।

मोबाइलको रेकर्ड अनुसार उनी कोलकातामा आफ्ना साथीको घरबाट महानगरको न्यूमार्केट इलाकामा गएको देखिएको छ । यसपछि १७ मे का दिन उनको फोन विहारको कुनै स्थानमा केही समयका लागि ‘अन’ भएको थियो । यो जानकारी कोलकातास्थित बंगलादेशको उच्चायोगलाई भारतीय अधिकारीहरूले जानकारी दिएका हुन् । 

अजीम कोलकातामा आफ्ना साथी गोपाल विश्वासको घरमा एक दिन बसेका थिए । उनको घरबाट १३ मेमा ती सांसद भाडाको कारमा निस्केका थिए ।

कोलकातास्थित उच्चायोगको कार्यालयका अनुसार घटनाबारेमा शनिबार बंगलादेशका प्रधानमन्त्रीले सांसद बेपत्ता भएको सूचना दिएको र त्यसपछि उच्चायोगले भारतको विदेश मन्त्रालयलाई जानकारी गराएको थियो । 

सांसदका कोलकातास्थित साथी विश्वासले जानकारी गराएअनुसार सांसदले त्यहाँ कोही राम्रो न्यूरोलोजिस्टसँग जचाउँन चाहेको बताएका थिए । आफूलाई त्यसबारेमा जानकारी नभएकाले साल्टलेकस्थित अपोलो अस्पतालमा जान सुझाव दिएको उनले बताएका छन् । सांसदको हत्या भएको बंगलादेशका गृहमन्त्रीले बताए पनि शव भने अझै फेला परिनसकेको बताइएको छ । बीबीसी

सम्बन्धित समाचार