काठमाडौं । विभिन्न भ्रष्टाचार प्रकरणमा चारवटा मुद्दा खेपेका सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलले एक युवतीमाथि समेत यौन अत्याचार गरेको पाइएको छ। भ्रष्टाचार गरेको ठहर भएपछि पौडेल विशेष अदालतको आदेशअनुसार अहिले जेलमा छन्।
भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विकललाई पक्राउ गरेपछि विकलबाट यौन अत्याचारको शिकार भएकी एक युवती अख्तियारको सम्पर्कमा पुगेकी थिइन् । उनले विकलको विरुद्धमा हारगुहार गरे पनि कहीँकतैबाट न्याय नपाएको भन्दै अख्तियारले न्याय दिलाइदिने आशासहित अख्तियार आएको बताएकी थिइन् । अख्तियारले ती युवतीको पनि लिखित बयान लिएको थियो ।
सोही क्रममा ती युवतीले विकलबाट भोग्नुपरेका यौन ज्यादती र अत्याचारका विषयहरू समेटेर अख्तियारलाई लिखित बयान दिएकी छन् । त्यसपछि अख्तियारले ती युवतीको विषयलाई टंगाल १ को रूपमा कारबाही अघि बढाउँदै विकललाई विशेष अदालतमा भ्रष्टाचारको आरोपमा मुद्दा दर्ता गर्दा पीडित युवतीको लिखित बयानसमेत सँगै पेस गरेको छ । यौन अत्याचारको शिकार भएकी टंगाल १ लाई न्याय दिलाई विकलमाथि थप कानुनी कारबाही गराउने उद्देश्यले अख्तियारले सो प्रकरणलाई पनि मुद्दामा समावेश गरी विशेष अदालत पठाएको बताइएको छ ।
अदालतमा विकलविरुद्ध पेस भएको भ्रष्टाचार मुद्दामा संलग्न टंगाल १ को लिखित बयान अध्ययन गर्दा विकलले ती युवतीलाई विवाहको प्रलोभन देखाउँदै पटकपटक यौनशोषण गरेको र दुई पटकसम्म गर्भपतन गराएको उल्लेख छ । विकलले टंगाल १ लाई विवाहकै लागि भन्दै माल्दिभ्स र सिंगापुरसमेत पु¥याएका थिए । त्यहाँ राखेर कैयौं दिन उनलाई लुटेपछि विवाह पछि गरौँला भन्दै नेपाल फर्र्काएका थिए । पीडित युवतीले कैयौंपटक विकलविरुद्ध प्रहरीमा उजुरी लिएर गए पनि सो उजुरी दर्ता गर्न प्रहरीले अस्वीकार गर्ने गरेको र अब न्याय पाउन नसक्ने भन्दै डिप्रेसनको शिकारसमेत हुनुपरेको बताएकी छिन् । जतिखेर युवती विकलको यौन अत्याचारको शिकार भइरहेकी थिइन् त्यति बेला विकल शक्ति र सत्ताको पहुँचका कारण निकै शक्तिशाली थिए । उच्च राजनीतिक नेतृत्व, प्रहरी प्रशासन तथा राज्यका अधिकांश निकायहरूमा उनकै हैकम चल्थ्यो । आजको नेपाल समाचारपत्र दैनिकबाट