रोम – परम्परागतरूपमा इजराइलका समर्थक मुलुकसहित १३ पश्चिमी मुलुकले शुक्रबार इजराइललाई रफाहमा ठूलो मात्रामा आक्रमण नगर्न अपिल गरेका छन् ।
“हामी रफाहमा पूर्णस्तरको सैन्य कारबाहीका लागि हाम्रो विरोध दोहोर्याउँछौँ, यसले नागरिक जनसङ्ख्यामा विनाशकारी परिणाम ल्याउनेछ”, ती मुलुकका विदेशमन्त्रीहरूद्वारा आफ्ना इजराइली समकक्षी इजराइल काट्जलाई पठाइएको र सार्वजनिक गरिएको अपिलमा भनिएको छ ।
हस्ताक्षरकर्ताहरूमा अस्ट्रेलिया, संयुक्त अधिराज्य, क्यानाडा, जापान, न्युजिल्यान्ड, दक्षिण कोरिया र युरोपेली सङ्घ (इयु)का सदस्य मुलुकहरू डेनमार्क, फिनल्यान्ड, फ्रान्स, जर्मनी, इटाली, नेदरल्यान्ड्स र स्विडेन छन् ।
मन्त्रीहरूले गाजामा अन्तर्राष्ट्रिय सहायताको प्रवाहमा सुधारका लागि प्रधानमन्त्री बेन्यामिन नेतान्याहुको मन्त्रिपरिषद्ले अपनाएको हालैको उपायहरूको स्वागत गरेका छन् छ तर ‘थप कदम’ का लागि आह्वान गरेका छन् ।