सिन्धुपाल्चोक, असार २ । मेलम्चीस्थित होटेल रोजको छतमा फसेका दुईजनाको उद्धार गरिएको छ । नेपाल सेनाको हेलिकोप्टरले आज बिहान ८ बजेर ४० मिनेटमा उद्धार गरेर सुरक्षित स्थानमा लगिएको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए ।
त्यसबाहेक अरु पनि कुनै उद्धार अथवा खोज गर्नुपर्ने हुनसक्छ भनेर अहिले पनि सेनाको हेलिकोप्टर मेलम्चीमा नै रहेको उनले बताए । सेनाको रेस्क्यु टिमसहितको एमआई १७ हेलिकोप्टर उद्धारको लागि गएको पनि उनले बताए ।
सोमबार साँझबाट इन्द्रावती र मेलम्ची नदीमा आएको बाढीले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकामा ठूलो क्ष्ाित पुगेको छ । सोही बाढीका कारण पानीको सतह जमिनबाट धेरै माथि आएपछि सुरक्षित स्थानमा जान नसकेका दुईजनाले उद्धारका लागि गुहार मागेका थिए ।