काठमाडाैँ । पेस्तोल देखाई ८५ वर्षीया वृद्धालाई लुट्ने एक व्यक्ति पक्राउ गरेका छन् । भोजपुरको षडानन्द नगरपालिका-९ बाट पेस्तोलसहित लुटपाटमा संलग्न सुमित भनिने सुमन परियारलाई प्रहरीले पक्राउ गरेको हो । गत आइतबार सोही स्थानमा रहेको जंगलमा षडानन्द नगरपालिका-२ की ८५ बर्षीया पासाङ ल्हामु शेर्पालाई पेस्तोल देखाई सुनको गरगहना तथा नगद लुटपाट परियार फरार भएका थिए ।
टेम्के मैयुङ गाउँपालिका-१ घर भएका ३७ वर्षीय परियारलाई प्रहरी टोलीले आइतवार बेलुका ८ बजे सोही जंगलमा शंकास्पद अवस्थामा फेला पारी पक्राउ गरेको हो । परियारको साथबाट प्रहरीले लुटपाटमा प्रयोग भएका पेस्तोल १ थान, म्याग्जिन १ थान, ११ राउण्ड गोली, नगद ९ हजार ५० रुपैया तथा सुनका गरगहना समेत बरामद गरेको छ ।
परियार २०७६ फागुन २१ गते संगठित अपराध, अपराधिक उपद्रव, एनसेल टावर आगजनी, जेसिबि आगजनी, राज्यबिरुद्धको कसुर लगायत ५ वटा मुद्धामा कैद सजाय भुक्तान गरि २०८० भदौमा कारागारबाट छुटेको थिए । घटना सम्बन्धमा थप अनुसन्धान तथा कानूनी कारवाही भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।