काठमाडौं । सरकारले स्वीटजरल्यान्डका उद्यमी–व्यवसायीलाई नेपालमा लगानीका निम्ति प्रोत्साहित गर्न स्वीस सरकारसँग अनुरोध गरेको छ । आगामी महिना यहाँ आयोजना हुने लगानी सम्मेलनमा उनीहरूको सक्रिय सहभागिताका निम्ति प्रोत्साहन गर्न स्वीस सरकारलाई सरकारले अनुरोध गरेको हो ।
नेपाल–स्वीटजरल्यान्ड परामर्श संयन्त्रको मंगलबार बेर्नमा सम्पन्न बैठकमा परराष्ट्र मन्त्रालयका सहसचिव गणेशप्रसाद ढकालले उक्त आह्वान गरेका जेनेभास्थित नेपालको राजदूतावासले जनाएको छ ।
बैठकमा नेपाल–स्वीटजरल्यान्ड सम्बन्धका समग्र पक्षका साथै आर्थिक, विकास साझेदारी, बहुपक्षीय मञ्चमा सहयोग आदानप्रदान, मानवअधिकार तथा जलवायु परिवर्तनलगायत विश्वले सामना गर्नुपरेका सामयिक विषयमा पनि विचारविमर्श भएको थियो ।