काठमाडौँ । समाज कल्याण परिषद्को भृकुटीमण्डपस्थित संरचनामा बिनासम्झौता राजनीतिक दलको भ्रातृ सङ्गठनको कार्यालय राखिएको छ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) निकट अनेरास्ववियु विद्यार्थी सङ्गठनले तीन वर्षदेखि परिषद्सँग सम्झौता नै नगरी भृकुटीमण्डपको भवन प्रयोग गर्दै आएको हो ।
२०७७ साल साउनदेखि भृकुटीमण्डपको मासिक भाडासमेत नदिई अनेरास्ववियुको केन्द्रीय कार्यालय सञ्चालनमा रहेको परिषद्ले जनाएको छ । त्यसबेला मासिक भाडा ४२ हजार रुपियाँ भए पनि अहिलेको हिसाबमा मासिक ५४ हजार ९२४ रुपियाँ पुगेको परिषद्ले जनाएको छ ।
अनेरास्ववियुको कार्यालय स्थापना हुनुअघि उक्त भवन नेपाल नेत्रहीन सङ्घले प्रयोग गर्दै आएको थियो । उक्त संस्थाले ४१ लाख ३२ हजार २०६ रुपियाँ हुँदासमेत भाडा नदिएपछि हटाइएको थियो । अनेरास्ववियुमा ऐन महर अध्यक्ष भएपछि २०७७ साल साउनदेखि अनेरास्ववियुसँग सम्झौताबिना नै भवन प्रयोग गरिएको समाज कल्याण परिषद्का सूचना अधिकारी सञ्जयकुमार मल्लिकले बताउनुभयो । उहाँले राजनीतिक सत्ता र शक्ति प्रयोग गरेर जबर्जस्ती रूपमा समाज कल्याणको भवन अनेरास्ववियुले प्रयोग गरेको दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो, “अहिले अनेरास्ववियुको कार्यालय भएको ठाउँमा पहिला नेत्रज्योति सङ्घको कार्यालय थियो । उहाँहरूले भाडा तिर्न नसकेपछि ताला लगाएका थियौँ । उहाँहरूले आएर ‘सदस्य सचिवले भन्नुभएको छ, ताला खोल्नुस्’ भन्नुभयो । त्यतिबेला पुष्कर खाती सदस्य सचिव हुनुहुन्थ्यो । हामीलाई सदस्य सचिवबाट पनि ‘ताला खोलेर देखाइदिनुस्’ भन्ने आदेश भयो अनि ताला खोलेर देखाइयो । तर उहाँहरूले जबर्जस्त रूपमा आफ्नो ताला लगाउनुभयो ।”
अनेरास्ववियुका नेताहरूले मिलन राई स्मृति प्रतिष्ठानको कार्यालय चलाउने भने पनि पछि विद्यार्थी सङ्गठनको कार्यालय राखेको उहाँले बताउनुभयो । सार्वजनिक सम्पत्ति जोगाउन प्रहरीमा उजुरी दिए पनि सुनुवाइ नभएको मल्लिकले दुःखेसो पोख्नुभयो । “अनेरास्ववियुका नेताकार्यकर्ताले ताला लगाएपछि भवनको रङरोगन गर्न थाल्नुभयो । पुराना संरचना र फर्निचर हटाउनुभयो,” उहाँले भन्नुभयो, “हामीले नजिकको प्रहरी कार्यालयमा सरकारी सम्पत्तिको सुरक्षा गरी पाऊँ भनेर निवेदन दियौँ तर हाम्रो केही चलेन ।” आफू भृकुटीमण्डपको कार्यालय प्रमुख रहँद स्थिति तनावपूर्ण भएर हप्ता दिन कार्यालय नगएको पनि उहाँले स्मरण गर्नुभयो ।