राष्ट्रकविको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि 

20.5k Shares

काठमाडौँ ः दिवङ्गत राष्ट्रकवि माधवप्रसाद घिमिरेको आज पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएको छ । उनको पार्थिव शरीरमा छोराहरू इन्दिवर र राजीव घिमिरेले मुखाग्नि अर्पण गरेका थिए । यसअघि उनको निवास लैनचौर, अलकापुरी पुगी दिवङ्गत घिमिरेप्रति उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, नेता अर्जुननरसिंह केसी, नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीलगायतले श्रद्धाञ्जलि व्यक्त गरेका थिए । 
नेपाली सेनाका मानार्थ सहायक रथी घिमिरेको सम्मानमा सेनाका अधिकृत नेतृत्वको टुकडीले सम्मान गारत अर्पण गरेको थियो । आर्यघाटमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, पूर्वरक्षामन्त्री भीमसेनदास प्रधान, उच्च सैनिक अधिकृत, साहित्यकार, कलाकारलगायतले पनि राष्ट्रकविप्रति श्रद्धाञ्जलि अर्पण गरेका थिए । कविवर घिमिरेको मङ्गलबार साँझ १०१ वर्षका उमेरमा निधन भएको थियो । 

राष्ट्रकविप्रति उपप्रधानमन्त्रीद्वारा श्रद्धाञ्जलि

यसअघि उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले दिवङ्गत राष्ट्रकवि माधवप्रसाद घिमिरेको पार्थीव शरीरमा उनको निवास लैनचौरमा राष्ट्रिय झण्डा ओढाइ नेपाल सरकारका तर्फबाट श्रद्धाञ्जलि व्यक्त गरेका थिए । 
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजद्धारा दुःख व्यक्त 
राष्ट्रकवि घिमिरेको निधनप्रति अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले दुःख व्यक्त गरेको छ । समाजका अध्यक्ष एवम् साहित्यकार गीता खत्रीले शोक विज्ञप्ती जारी गरी कविवर घिमिरेको निधन भएको दुःखद समचारले अनेसास परिवार स्तब्ध भएको बताएकी हुन् । 

‘नेपाली शास्त्रीय छन्दका कविता र गीति कविताका माध्यामबाट नेपाली साहित्यलाई दर्जनौँ कालजयी कृति दिएर नेपाली साहित्य भण्डारलाई समृद्ध बनाउनुभएका राष्ट्रकविको परलोक गमनसितै नेपाली साहित्यको एक युगको अवसान भएको छ,’ विज्ञप्तिमा भनिएको छ । 
अनेसास बोर्ड अफ ट्रष्टिका कोषाध्यक्ष राम लामा ‘अविनाशी’ले नेपाली साहित्य क्षेत्रको विकासका लागि राष्ट्रकवि घिमिरेको योगदान अतुलनीय रहेको बताए । नेपाली साहित्यको इतिहासलाई वजनदार बनाएर राष्ट्रकवि विदा भएको उनको भनाइ छ । 

अनेसासले एक शताब्दी लामो उतारचढावपूर्ण जीवन बिताएर १०१ वर्षको उमेरमा परलोक भएका राष्ट्रकविको चिरकाल बैकुण्ठमा बासको कामना समेत गरेको छ । 
राष्ट्रकविसितको वियोगको यस शोकाकुल घडीमा धर्मपत्नी, छोराछोरी, सकल परिवारजन तथा देश विदेशमा रहनुभएका नेपाली भाषा साहित्यका साधक तथा शुभचिन्तकमा अनेसासले हार्दिक समवेदना प्रकट समेत गरेको छ । 
उपराष्ट्रपति स्तब्ध
    
उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाली साहित्यका शीर्ष व्यक्तित्व राष्ट्रकवि माधवप्रसाद घिमिरेको दुःखद् निधनले स्तब्ध भएको बताएका छन् । 
शोक वक्तव्य जारी गर्दै उहाँले राष्ट्रकविप्रति श्रद्धाञ्जलि व्यक्ति गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरेका  छन् । 
राष्ट्रकवि घिमिरेलाई भौतिकरुपमा बिदा गर्नुपर्दा राष्ट्रलाई ठूलो क्षति भएको उल्लेख गर्दैै उपराष्ट्रपतिले राष्ट्रकविले राष्ट्रलाई दिएको अमूल्य साहित्य सिर्जना तथा राष्ट्रका लागि पु¥याउनु भएको उच्च योगदानले भने उहाँ सधैँसधैँका लागि बाँचिरहनु हुने बताएका छन् । 
साहित्य सिर्जनामार्फत राष्ट्रकवि घिमिरेले राष्ट्रका लागि पु¥याएको अमूल्य योगदानको उच्च सम्मान गर्दै उपराष्ट्रपतिले शोक वक्तव्यमा भनेका  छन्, ‘राष्ट्रकविमा भएको देशभक्ति, प्रकृति प्रेम भावलाई अङ्गाल्दै उहाँले जीउनुभएको सरल आदर्श जीवनलाई अनुशरण गर्न सक्यौँ भने राष्ट्रकवि घिमिरेप्रति सच्चा श्रद्धाञ्जलि हुनेछ ।’ – रासस
 

सम्बन्धित समाचार