वासिङ्टन– अमेरिकामा टिकटकमाथि प्रतिवन्ध लगाउनका लागि बाटो खुला भएको छ । अमेरिकी संसदले बुधबार पारित गरेको एक विधेयकमा भएको व्यवस्थाअनुसार लोकप्रिय भिडियो एप टिकटकलाई राष्ट्रव्यापी प्रतिबन्ध लगाउन सक्ने बाटो खुला गरेको हो ।
अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार यदि टिकटकका चिनियाँ मालिकले सो कम्पनीमा रहेको आफ्नो हिस्सेदारी बेचेनन् भने अमेरिकामा अब टिकटक प्रतिबन्ध हुने भएको छ ।
टिकटक प्रतिबन्धको पक्षमा रहेका सांसदहरूका अनुसार सो कम्पनीको हालको स्वामित्व संरचना यस्तो छ कि त्यसले अमेरिकाको राष्ट्रिय सुरक्षामाथि खतरा देखिएको छ, जसकाकारण अमेरिका यसमा निकै चिन्तित रहेको छ ।
सो विधेयक ३२५/६५ मतसहित पारित भएसँगै सो विधेयकलाई अब सिनेटमा पठाइने भएको छ । १५० मिलियन भन्दा बढी अमेरिकी प्रयोगकर्ताहरू रहेको लोकप्रिय एप टिकटक चिनियाँ प्रविधि फर्म ‘बाइट डान्स लिमिटेड’को पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी हो।