काठमाडौं । कुमारी बैंकमा अपरिपक्व एवं गैरव्यावसायिक व्यवस्थापनको नकारात्मक परिणाम देखापर्न थालेको छ । आर्थिक वर्ष २०८०÷८१ मा बैंकका सेयरधनीहरूले एक पैसा पनि लाभांश नपाउने भएका छन् । बैंकले नाफा कमाएको देखाउने अवस्थामा पनि सेयर लगानीकर्ताहरू हिस्सिने अवस्था सिर्जना भएको छ ।
एउटा त्रैमासिक अवधिमा मात्र पनि जोखिम भारित सम्पत्तिको तुलनामा प्राथमिक पुँजी कोष पर्याप्तता अनुपात तोकिएको भन्दा कम भएमा बैंकहरूले लाभांश वितरण गर्न नपाउने व्यवस्था रहेको छ । राष्ट्र बैंकका अनुसार कुनै पनि बैंकमा जोखिम सम्पत्तिको तुलनामा प्राथमिक पुँजी अनुपात ८ दशमलव ५ प्रतिशत हुनुपर्छ । तर, कुमारी बैंकमा यस्तो अनुपात ८ दशमलव शून्य ३ प्रतिशत मात्र रहेको छ । यही कारण बैंकका सेयरधनीहरू यस वर्ष हात लाग्यो शून्य अवस्थामा पुगेका हुन् ।
कुमारी बैंक, काष्ठमण्डप डेभलपमेन्ट बैंक, पश्चिमाञ्चल फाइनान्स, महाकाली विकास बैंक, काँक्रेविहार विकास बैंक, देव विकास र नेपाल क्रेडिट एन्ड कमर्स बैंक (एनसीसी)जस्ता बैंक तथा वित्तीय संस्थाहरू गाभिएर बनेको यस बैंकको खस्कँदै गरेको वित्तीय हालतका लागि मूलतः व्यवस्थापकीय कमजोरी र बदनियत नै हो भन्ने समेत बिस्तारै खुल्न थालेको छ ।
यस्तै, व्यक्तिगत स्वार्थमा लिप्त एउटा निर्णय उजागर भएको छ । बैंकले महोत्तरी भंगाहाका दिनेशकुमार महतोलाई १ अर्ब ८० करोड रुपैयाँको हाराहारीमा कर्जा दिएको देखिएको छ । बैंकले महतो सञ्चालक रहेका कम्पनीहरू अप्फा वायर, करिस्मा इलेक्ट्रोनिक्स, तिनकुने हार्डवेयर र एभरेस्ट वायर इन्डस्ट्रिजका नाममा कर्जा दिएको हो ।
प्राप्त सूचनाअनुसार यी कम्पनी बैंकसँग कर्जा लिनका लागि मात्र सञ्चालनमा ल्याइएका हुन् वा स्थापना गरिएका हुन् । यी कम्पनीको असली कारोबार र कागजी विवरणमा आकाश जमिनको फरक छ । आजको राजधानी दैनिकबाट