काठमाडौँ, फागुन २४ गते । सरकारले लोक सेवा आयोगको परीक्षा तयारी गरेर बसेका ‘फ्रेस’ जनशक्तिमाथि चोट पुग्ने गरी सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा प्रस्ताव गरेको छ ।
अहिले निजामती सेवा ऐनमा उल्लिखित लोक सेवा आयोगको परीक्षा दिन पाउने उमेर हदलाई घटाएर निजामती सेवामा नयाँ जनशक्ति आउने सम्भावनालाई खुम्च्याइएको छ ।
हाल निजामती सेवा ऐनको दफा १० मा उम्मेदवार हुन पुरुष उम्मेदवारको हकमा ३५ वर्ष र महिला तथा अपाङ्गता भएका व्यक्तिको हकमा ४० वर्षसम्मका व्यक्ति उम्मेदवार हुन पाउने व्यवस्था छ ।
तर सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार प्रतिनिधि सभामा दर्ता गएको सङ्घीय निजामती सेवा विधेयकको दफा १८ मा भने राजपत्र अनङ्कित वा सहायक तहको पदमा १८ वर्ष उमेर पूरा भएको, राजपत्राङ्कित वा अधिकृत तहको पदमा २१ वर्ष उमेर पूरा भएको पुरुष उम्मेदवारका हकमा ३२ वर्ष र महिला उम्मेदवारको हकमा ३७ वर्ष पूरा नभएको भनी प्रस्ताव गरिएको छ ।
लोक सेवा आयोगका प्रवक्ता गीताकुमारी होमेगाईले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आयोगसँग मागेको परामर्शमा आयोगको परीक्षा दिन पाउने परीक्षार्थीको उमेर हद हालको व्यवस्थामा महिला र पुरुषकै तीन/तीन वर्ष घटाइएको बताउनुभयो । उहाँले भन्नुभयो, “महिला र अपाङ्गता भएका व्यक्तिले अहिले पनि ४० वर्षमा लोक सेवा आयोगको परीक्षा पास गर्दा ५८ वर्षमा पेन्सन हुँदा पेन्सन पाक्न चाहिने २० वर्ष अवधि नपुग्ने भएकाले सेवा प्रवेश गर्ने उमेर घटाइएको हो ।” तर उक्त विधेयकमा अवकाश उमेर हद भने ६० वर्ष प्रस्ताव गरिएको छ । आजको गोरखापत्र दैनिकबाट