नवलपरासीको गेर्मीबाट व्यापक तस्करी, दरबन्दी भक्तपुर,  प्रहरी चौकी गेर्मीको घुमुवाको रूपमा कार्यरत

17.7k Shares

परासी । पश्चिम नवलपरासीका नाकाहरूबाट अहिले तस्करी धन्दा शुरू भएको छ । सबैभन्दा बढी तस्करी धन्दा गेर्मी नाकाबाट भैरहेको छ । नेपाल प्रहरीको संरक्षण र सेटिङमा यहाँबाट व्यापक तस्करी भएको हाम्रो स्थानीय संवाददाताले एक साताको दैनिक रिपोर्टिङ गर्ने क्रममा पत्ता लगाएको बताएका छन् । स्थानीय प्रहरीको मिलिमतोमा यहाँको नाकाबाट तस्करी भैरहेको कुरा त्यतिबेला पुष्टि भयो जति बेला जिल्ला प्रहरी कार्यालयको टोलीले तस्करीको सामान बरामद गर्याे । तस्करीको सबै सेटिङ र व्यवस्था मिलाउने काम सोही गेर्मी प्रहरी चौकीका घुमुवा सहायक हवल्दार ओम प्रकाश यादवले गर्ने गरेको समेत स्थानीय व्यवसायीहरू बताउँछन् ।
घुमुवा सहायक हवल्दार ओम प्रकाश यादवको दरबन्दी उपत्यका प्रहरी कार्यालय मातहत भक्तपुर जिल्लामा रहेको छ । प्रहरी प्रधान कार्यालयले बारम्बार काजमा रहेकाहरूलाई तुरुन्तै दरबन्दीमा हाजिर गर्न रमाना गर्नु भनेर आदेश मात्रै होइन लिखित पत्र पठाएको भए पनि जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले यो समाचार तयार गर्दा समेत यादवलाई दरबन्दीमा पठाउन रमाना दिएको छैन । घुमुवा यादव नवलपरासी जिल्लामा धेरै लामो समयदेखि अर्थात बर्षाै बर्ष देखि कहिले जिल्ला प्रहरी कार्यालय त कहिले मातहतका चौकीमा घुमुवाको रूपमा कार्यरत रहिरहेका छन् । पछिल्लो झन्डै एक बर्षदेखि उनी गेर्मी प्रहरी चौकीको घुमुवाको रूपमा कार्यरत छन् । प्रहरी प्रधान कार्यालयले सरूवा गरे पनि उनी अझै दरबन्दीमा रमाना भएका छैनन् । जिल्ला प्रहरीले मात्रै होइन प्रदेश प्रहरी कार्यालय लुम्बिनीले समेत यादवलाई रमानाको लागि आदेश दिएको छैन । डिआइजी कुबेर कडायतलाई घुमुवा ओम प्रकाश यादवको दरबन्दी भक्तपुर  भएको जानकारी भए पनि उनले अझै रमाना नगरेकोमा जिल्ला प्रहरीलाई निर्देशन दिन सकेका छैनन् ।
पश्चिम नवलपरासीमा लामो समयदेखि घुमुवाको रूपमा कार्यरत ओम प्रकाश यादव धेरै बिबादित र बदनाम प्रहरी हुन । उनले नै अहिले गेर्मी नाकाबाट तस्करीको सेटिङ मिलाउने काम गरिरहेका छन् । भैरहवाबाट कपडाको ठूलो तस्करी गर्ने पूर्णिमा र थकाली भन्ने दुई जना व्यापारीलाई घुमुवा यादवले पुरानो चिनजान र सम्पर्कको आधारमा गेर्मी ल्याएर तस्करीको लाइन दिएको समेत खुलेको छ।
यसबाहेक तस्करीको लाइन पाउनेहरूमा किराना सामानको काम गर्ने अशोक बनियां , मोवाइल फोन एवं मोवाइलका सामानको काम गर्ने बालमुकुन्द रौनियार , कपडाको काम गर्ने संजय , कुखुराको काम गर्ने पाल्पाली , किराना सामानको काम गर्ने मनोज ,बिद्युतका सामानको काम गर्ने राजकुमार , चल्ला , कपडा र हार्डवेयरको काम गर्ने भारतीय नागरिक मल्खा , कुखुराको काम गर्ने पंजावी र हार्डवेयरको काम गर्ने बेचु मुख्य छन् । यहाँबाट अन्य साना झोलेपोकेहरूको समूह त धेरै छ । यो नाका अहिले सबैभन्दा बढी तस्करी हुने पश्चिम नवलपरासीको नाका हो । चौकी प्रमुख सई श्याम कार्की छन् । संचार दरबन्दी भएका भए पनि उनलाई चौकी प्रमुख बनाएर पठाइएको छ। तर तस्करी मिलाउने र गराउने काम घुमुवा सहायक हवल्दार ओम प्रकाश यादवले नै गर्ने गरेका छन् । तस्करी भएको बारेमा जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रवक्तासंग जिज्ञासा राख्दा उनले तीन दिन अघि मात्रै त्यो नाकाबाट भएको तस्करीको सामान बरामद गरेको बताए । उक्त सामान पूर्णिमा र थकालीको भएको समेत बताइएको छ। जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उक्त सामान बरामद गरेको थियो ।

सम्बन्धित समाचार