काठमाडौं उपत्यकामा एकसाता निषेधाज्ञा थप्ने तयारी

18.5k Shares

काठमाडौं । काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा लम्ब्याउने तयारी भएको छ । उपत्यकामा कोरोना संक्रमणदर घटाउन एक साता निषेधाज्ञा कायमै राख्ने तयारी भएको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुली दोस्रो लहरको कोरोना संक्रमणको भयावह अवस्थालाई मध्यनजर गर्दै एकसाता निषेधाज्ञा लम्ब्याउने तयारी भएको बताउँछन् । ‘‘अहिले तत्काल निषेधाज्ञा खोल्ने परिस्थिति छैन । अझै पनि उपत्यकाको संक्रमणदर घटेको छैन । अब थपिने एक साताको निषेधाज्ञा झन कडा हुनेछ,” प्रजिअ पराजुलीले भने, ‘‘विहान तरकारी पसलहरुमा बढी भिडभाड देखिएको छ । यसलाई  निषेधाज्ञामा कसरी व्यवस्थापन गरेर लैजाने भन्ने गृहकार्य गरिरहेका छाँैँ । विहान १० बजेसम्म खोलिएका खाद्यन्न पसलहरुमा कसरी भिडभाड कम गरी संक्रमण दर घटाउने भन्नेतिर प्रशासनको ध्यान गएको छ ।”

प्रजिअ पराजुलीका अनुसार बैंक तथा वित्तिय संस्था, सरकारी कार्यालयहरुमा पनि अहिले भइरहेको उपस्थितिलाई न्यून गर्ने भन्नेबारे प्रशासनमा छलफल भइरहेको छ । ‘‘अब एकसाता लम्बिने निषेधाज्ञामा कसरी कडाइ गरेर संक्रमण दर रोक्ने भन्नेबारे छलफल हुनेछ । यस विषयमा गृह मन्त्रालयमा छलफल हुनेछ,” प्रजिअ पराजुलीले भने, ‘‘त्यसपछि कति जनशक्तिको उपस्थितिमा यस्ता कार्यालयहरु सञ्चालन गर्ने भन्नेबारे उपत्यकाका तीनओटै जिल्ला प्रशासनले निर्णय गर्नेछन् । यतिमात्रै होइन अहिले त कोरोना संक्रमण तथा रोकथाम गर्न अध्यादेश पनि जारी भएको छ । अध्यादेश बमोजिम संक्रामक रोग नियन्त्रण गर्न भएका पहलकदमहरुलाई थप कडा पारिनेछ ।”

 

सम्बन्धित समाचार