छैटौँ सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस माघको तेस्रो साता

17.4k Shares

काठमाडौँ । ललितपुर टेबलटेनिस क्लबको आयोजना तथा कन्सेप्ट मेकर्जको ब्यवस्थापनमा माघको तेस्रो साता ‘छैटौँ सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिता’ आयोजना हुने भएको छ । प्रतियोगिता अखिल नेपाल टेबलटेनिस संघको वार्षिक कार्यक्रमअन्तर्गत हुन लागेको हो । माघ १६ देखि २० गतेसम्म आयोजना हुने उक्त प्रतियोगिताका खेलहरु लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा खेलाइने छ । प्रतियोगितामा नेपालका अतिरिक्त भारत र चीनका खेलाडीको पनि सहभागिता रहने आयोजकले जनाएको छ ।

प्रतियोगितामा चीनबाट दुई महिला खेलाडी सहभागी हुनेछन् । भारतबाट भने १६ पुरुष र आठजना महिला खेलाडीको सहभागिता रहने छ । प्रतियोगितामा कुल तीन सय नौजना खेलाडी सहभागी हुने जानकारी आयोजक क्लबका अध्यक्ष उर्दीप जोशीले दिए ।प्रतियोगितामा पुरुष टिम, महिला टिम, पुरुष एकल, महिला एकल, पुरुष भेट्रान एकल (४० वर्षभन्दा माथि), महिला भेट्रान एकल (४० वर्षभन्दा माथि), पुरुष भेट्रान एकल (५५ वर्षभन्दा माथि), यू–१६ ब्वाइज एकल र यू–१६ गल्र्स एकल स्पर्धा समावेश गरिएको छ ।

नेपाली टेबलटेनिस खेलको इतिहासमै यो सबैभन्दा बढी पुरस्कार राशीको प्रतियोगिता भएको दाबी आयोजकको छ । यो प्रतियोगितामा पुरस्कारका लागि मात्र पाँच लाख ८० हजार रुपैयाँ छुट्याइएको जानकारी अध्यक्ष जोशीले दिए । प्रतियोगिता सम्पन्न गर्न २३ लाख ३५ हजार रुपैयाँ खर्च हुने अनुमान आयोजकले गरेको छ । 

सम्बन्धित समाचार