कम्पाला घोषणापत्रले अन्तर्राष्ट्रिय शान्ति र स्थिरतामा जोड दिएको छः प्रधानमन्त्री

15.4k Shares

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असंलग्न राष्ट्रहरूको १९ औं शिखर सम्मेलनले अन्तिम दस्ताबेज (फाइनल डकुमेण्ट) कम्पाला घोषणा पत्र पारित गरेको बताएका छन्।तीन दिने युगाण्डा भ्रमण सकेर स्वदेश फर्किनुभएका प्रधानमन्त्री दाहालले विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा सो बारेमा जानकारी गराएका हुन्।

उनले सम्मेलनले प्यालेस्टाइन सम्बन्धी घोषणा पत्र पारित गरेको पनि बताउनु भयो । उहाँले कम्पाला घोषणा पत्रले अन्तर्राष्ट्रिय शान्ति, स्थिरता, संयुक्त राष्ट्रसंघको, सुदृढीकरण, बहुपक्षियताको प्रवर्द्धन, सार्वभौमिक समानता, स्वतन्त्रता, अहस्तक्षेप, न्यायपूर्ण विश्व व्यवस्था, दक्षिण सहयोग, आन्दोलनका सदस्यहरुबीच आन्तरिक एकता र सद्भाव, ऐक्यवद्धता, दिगो विकासका लक्ष्य हासिल गर्ने जस्ता लक्ष्यहरूमा जोड दिइएको बताए।

उनले द्वितीय विश्वयुद्धको समाप्तिपछि विश्व व्यवस्था दुई ध्रुवमा विभाजित रहेको परिस्थितिमा स्वतन्त्रता, स्वाधिनता र आर्थिक विकासको पक्षमा तेस्रो धारका रुपमा विकास भएको असंलग्न आन्दोलनको सान्दर्भिकताबारे केही प्रश्न उत्पन्न भएपनि असमानता, नवउपनिवेशवाद, भूराजनीतिक द्वन्द्व, गरिबी जस्त समस्यायुक्त वर्तमान विश्वमा असंलग्न आन्दोलनको ठूलो भुमिका रहेको कुरामा विमति हुन नसक्ने बताए।

प्रधानमन्त्री दाहालले विश्व व्यवस्थालाई न्यायपूर्ण, समतामूलक बनाउँदै सबै देशलाई स्वतन्त्रता, स्वाधिनता र भौगोलिक अखण्डताको प्रत्याभूति गर्दै विश्वका सबै मानव समुदायले समृद्धि प्राप्त गरी गरिमायुक्त जीवनयापन गर्ने कार्य सम्पन्न गर्न असंलग्न आन्दोलनको महत्त्व अझै बढेको बताए।उनले भ्रमणका क्रममा युगाण्डाका राष्ट्रपति, भारतीय विदेशमन्त्रीलगायतका उच्च पदस्थ व्यक्तिहरूसँग भेट भएको पनि बताए।

सम्बन्धित समाचार