पोखरा महानगरपालिकाको १४ औं नगरसभा स्थगित, माघ १८ लाई सारियो

18.4k Shares

काठमाडौं- पोखरा महानगरपालिकाको १४ औं नगरसभा माघ १८ गते बस्ने भएको छ। पुस २९ गते महानगरको हिउँदे सभा बोलाइए पनि करको विषय सम्बोधन हुन नसक्दा नगर सभा स्थगित भएको हो।पोखरा महानगरपालिकाका प्रवक्ता मोति तिमिल्सिनाले आर्थिक ऐनमा राजश्व सम्बन्धि विषयहरू समेटिने जानकारी गराउँदै त्यसमा केही संशोधन गर्नुपर्ने विषयवस्तुहरुको लागि पोखरा महानगरपालिका वडा न ४ का अध्यक्ष देवकृष्ण पराजुलीको संयोजकत्वमा १३ सदस्य समिति गठन भएको बताए।उनले माघ १८ गते पुन: सञ्चालन हुने गरी स्थगित भएको जानकारी दिए।

पोखरा महानगरपालिकाकाले पोखराको घरजग्गा कर घटाउने एजेण्डा नराखेपछि पोखराको कार्यपालिका बैठक स्थगित भएको थियो। मंगलवार बस्ने भनिएको कार्यपालिका बैठक कर घटाउने एजेण्डा नराखेपछि नेपाली कांग्रेसबाट वडाध्यक्ष भएकाहरू बैठकमा सहभागी नहुने भनेसँगै बैठक स्थगित भएको थियो।यता पोखरा महानगरपालिका वडा नं.२ का वडा अध्यक्ष तथा नेपाली कांग्रेस दलका नेता दिवसमान प्रधानांगले पोखरेली जनताको चाहना र भावनाअनुसार काम गर्नुपर्ने कर्तव्य भएकोले विविध कारणले गर्दा रोकिएको विशेष प्रस्तावलाई सम्बोधन गरेर राजश्वलाई घटाउनको लागि कार्यदललाई दुई हप्ताभित्र घटाउन समय दिएको बताए।

पोखरा महानगरपालिकामा कांग्रेसका वडाध्यक्षहरूको बहुमत छ। २२ जना वडाध्यक्ष रहेको कांग्रेसले मंगलबार बस्ने भनेको कार्यपालिका बैठकमा कर घटाउने एजेण्डा राख्न सुझायो। तर महानगरले कर घटाउने बारेको एजेण्डा बैठकमा राखेको थिएन।एजेण्डा नै समावेश नभएपछि कांग्रेसका वडाध्यक्षहरूले बैठकमा सहभागी नहुने जानकारी मेयर धनराज आचार्यलाई गराएका थिए। त्यसअघि सभामा प्रश्तुतहुने कार्यसूचि पास गर्न कार्यपालिका बैठक डाकिएको हो।

त्यस्तै, पोखरा महानगपालिका वडा नम्बर १७ का अध्यक्ष राधिकाकुमारी शाहीले कार्यपालिकाको बैठक नेकपा एमालेले बहिष्कार नगरेको बताइन्। उनले समयमा नेपाली कांग्रेसका निर्वाचित सदस्यहरू नआउँदा स्थगति भएको बताइन्।पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य भने १६ र १७ गते कार्यपालिकाको बैठक बस्दे र १८ गते नगरसभा बस्ने बताए। उनले नगरसभा समयमा नै सुरु गरेको बताए।कांग्रेसको बिरोधपछि आर्थिक ऐनमा राजश्व सम्बन्धि विषयहरु समेटिने महानगरले बताएको छ।

सम्बन्धित समाचार