काठमाडौँ । शान्ति सुरक्षासहित सीमा सुरक्षा र तस्करी नियन्त्रणमा सशस्त्र प्रहरीको भूमिका अहं रहेको विराटनगरका मेयर नागेश कोइरालाले बताएका छन्।
सशस्त्र प्रहरी बल नेपाल ३ नम्बर कंकालिनी गण टंकीसिनवारी मोरङमा निर्माण हुन लागेको सभाहलको शिलान्यास गर्दै मेयर कोइरालाले खुला सीमाको रक्षा र त्यहाँ हुने तस्करी नियन्त्रणमा सशस्त्रले सकारात्मक कार्य गरिरहेको बताएका हुन्।मेयर कोइरालाले विपद् व्यवस्थापनसँगै तत्काल उद्धार र राहत कार्यमा सशस्त्रको भूमिका उत्कृष्ट रहेको बताए।
उनले भने, ‘सशस्त्रले जनताको सेवामा अहोरात्र काम गर्दै आएको छ। जनतासँगै मुलुकको हितका लागि खुला सीमा जनताको साथ लिएर तस्करी नियन्त्रण, सुरक्षासमेत प्रदान गर्दै आएको छ।’ उनले भैपरी हुने प्राकृतिक विपद्मा समेत सशस्त्रको सहयोग सराहनीय रहेको बताए।
कार्यक्रममा सशस्त्र प्रहरी उपरीक्षक तीर्थराज थापाले निर्माणाधीन भवनको कार्य ४० लाख रुपैयाँ लागतमा सम्पन्न हुने जानकारी दिए। भवन वातानाकुलितसहित सुविधासम्पन्न हुने बताएका प्रहरी उपरीक्षक थापाले भवन ४० फिट लम्बाई र २० फिट चौडाइको हुने जानकारी दिए।कार्यक्रममा मोरङको बूढीगंगा गाउँपालिकाका अध्यक्ष जितनारायण थापामगर, कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरी, धनपालथानका अध्यक्ष जिवछ गच्छदार, जहदाका अध्यक्ष जितु साहलगायत सहभागी थिए।