काठमाडौं- राष्ट्रपति कार्यालयबाट महासचिव नियुक्तिको जानकारी नआएपछि प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना छटपटीमा परेका छन् ।
सभामुख घिमिरे र राष्ट्रियसभा अध्यक्षको सिफारिसमा राष्ट्रपतिले संसदको महासचिव नियुक्त गर्ने कानुनी व्यवस्था छ। सोहीअनुसार सोमबार सिफारिस गरेर राष्ट्रपति कार्यालय पठाएका पद्मप्रसाद पाण्डेलाई संघीय संसदको कार्यवाहक महासचिव नियुक्तिको जानकारी नआएपछि दुवै छटपटीमा परेका हुन्।संघीय संसदका महासचिव भरतराज गौतमले राजीनामा दिएपछि उनको स्थानमा सभामुख घिमिरे र राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले पाण्डेको नाम सिफारिस गरेका थिए। राष्ट्रपतिबाट महासचिव नियुक्तिमा ढिलाइ भएपछि सभामुखले कार्यवाहक तोकेका हुन्। कार्यवाहक महासचिव तोक्ने अधिकार भने सभामुखलाई रहेकाे छ।
प्रशासनिक नेतृत्व नहुँदा संघीय संसद् दिवसका सन्दर्भमा गर्नुपर्ने कतिपय कामका साथै लोकसेवाबाट सिफारिस भएर आएका कर्मचारीको नियुक्तिलगायत दैनिक काम प्रभाव परेका कारण सभामुखले पाण्डेयलाई अर्काे व्यवस्था नभएसम्मका लागि महासचिवको जिम्मेवारी तोकेको संसद् सचिवालयले जनाएको छ।
सभामुखले महासचिव नियुक्तिमा भएको ढिलाइ वा चासोबारे राष्ट्रपतिसँग संवाद गर्न चाहेको तर सम्पर्क नभएको पनि उनले सचिवालयले जनाएको छ।महासचिव गौतमले यही मङ्सिर २४ गतेदेखि लागू हुनेगरी राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा पेस गरेका थिए ।हरेक वर्ष मंसिर २८ गते संसद् दिवस मनाइने गरेको छ ।