काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालले अनुमोदन गरेका मानवअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय सन्धि, महासन्धिका प्रतिबद्धता पूरा गर्न सरकार निरन्तर रुपमा क्रियाशील रहेको बताएका छन्।
७५औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा आज (आइतबार) शुभकामना दिँदै उनले जातीय, क्षेत्रीय, लैङ्गिक तथा परम्परागत विभेद्का कारणलाई सम्बोधन गर्न संविधानमा मौलिक हकको व्यवस्था भए बमोजिम कानुन बनाइ मानवअधिकारको प्रत्याभूति दिलाउन सरकार प्रयत्नशील रहेको बताए।
प्रधानमन्त्री प्रचण्डले प्रत्येक व्यक्तिको जीवन, मर्यादा, समानता, स्वतन्त्रताका साथै मानवअधिकारको सम्मान, संरक्षण र सम्वर्द्धन गरी मानवअधिकार संस्कृतिको विकास गर्न सरकार प्रतिबद्ध रहेको दाबी गरेका छन्।
सरकारले नेपाल पक्ष भएका मानवअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिको दायित्व पूरा गर्दै आइरहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले केही बडापत्रमा आधारित र सन्धिजनित समितिमा पेस हुन बाँकी आवधिक प्रतिवेदन साथै विश्वव्यापी आवधिक समीक्षा प्रतिवेदन समयमा नै पेस हुनेमा सरकार दृढ रहेको बताए।