सुकुम्बासी समस्या समाधान गर्ने प्रधानमन्त्रीको दाबी

17k Shares

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही दिन भित्रै सुकुम्बासी समस्या समाधान गर्ने गरी सरकारले आवश्यक तयारी गरिरहेको दाबी गरेका छन्। स्वबासी, सुकुम्बासी तथा जग्गाविहीनलाई सहज रुपमा जग्गा उपलब्ध गराउने विषयमा आवश्यक निर्णय गरिने प्रधानमन्त्रीले बताए।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार नेकपा (माओवादी केन्द्र) को वेबसाइट सार्वजनिक गर्दै प्रधामन्त्री प्रचण्डले सुकुम्बासी समस्या हल हुने दाबी गरे। उनले सुकुम्बारी समस्या समाधानका लागि मन्त्रिपरिषद्ले ऐन संशोधन गर्ने निर्णय गरेको जानकारी दिए।

‘सुकुम्बासी, अव्यवस्थित बसोबासको समस्या हल गर्न ऐन नै संशोधन गरिन्छ। बन ऐन, २०२९ ले विकास नै रोकिने अवस्था छ। मान्छे मरे पनि रुख काट्न नपाइने अवस्था छ,’ प्रधानमन्त्रीले भने।

सो ऐनको संशोधनपछि विकास निर्माण र लालपूर्जा वितरण गर्ने काम अगाडि बढ्ने प्रधानमन्त्रीको भनाइ छ। सरकारका तर्फबाट देश र जनताको पक्षमा राम्रो काम गर्ने इमान्दार प्रयास भएको बताउँदै दिँदै प्रधानमन्त्रीले मिटरब्याज पीडितको समस्या समाधान गर्न प्रयास गरिएको, सामाजिक न्याय र सामाजिक सुरक्षाको प्रत्याभूति, भूमाफियालाई कारबाही, नक्कली भूटानी शरणार्थी प्रकरणमा हस्तक्षेप र तस्करी नियन्त्रणमा उल्लेखनीय सुधार भएको दाबी गरे।

नेपालको राष्ट्रिय पहिचानलाई सुदृढ गर्न सरकार गम्भीर रुपमा लागेको उल्लेख गर्दै प्रधानमन्त्रीले भारत, चीन, अमेरिका, इटाली लगायतको भ्रमण सहयोगी बनेको स्पष्ट पारे। फरक प्रसङ्गमा प्रधानमन्त्री दाहालले जलवायु परिवर्तनका कारण नेपाल डरलाग्दो स्थितिमा पुगेकाले अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराइएको र संयुक्त राष्ट्रसङ्घका महासचिवले नेपालको भ्रमण गर्नुभएको उल्लेख गरे।

सम्बन्धित समाचार