काठमाडौँ । देशका विभन्न स्थानमा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । सिरहा, रुकुम पश्चिम, भक्तपुर, कञ्चनपुर र मकवानपुरमा सवारी दुर्घटना भएका हुन् ।
सिरहाको नवराजपुर गाउँपालिका-३ स्थित सडकमा मोटरसाइकललाई पिकअपले शुक्रबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार बस्ने २९ वर्षीय अशोक रायको प्रादेशिक अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको छ । पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रूकुम पश्चिमको सानिभेरी गाउँपालिका-१० घनठानास्थित सडकमा बा ०१००३ क (१३) नम्बरको स्काईभेटरको ठक्करबाट सोही ठाउँ बस्ने भरत बहादुर खड्काको छोरा ७ वर्षीय चन्द्र लाल खड्काको शुक्रबार दिउँसो मृत्यु भएको छ । स्काईभेटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै भक्तपुरको सूर्यबिनायक नगरपालिका-५ श्रीजनानगर चोकमा हाल नम्बर नखुलेको टिपरमा बा.९७ प २९५० नम्बरको मोटरसाइकल ठोकिएर गएराति दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका-८ दार्जिलिङ हाईट बस्ने सिन्धुपाल्चोक चौतारा साँगाचोक गढी नगरपालिका-६ घर भएका २३ वर्षीय राम शरण आलेमगरको मृत्यु भएको छ ।
यसैगरी कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-६ पुरानो बस्तीस्थित सडकमा म।१ प २४६८ नम्बरको मोटरसाइकल र से.२ प १४५२ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शुक्रबार राति दुर्घटना हुँदा म.१ प २४६८ नम्बरको मोटरसाइकल चालक दोधारा चाँदनी नगरपालिका-६ शान्ती टोल बस्ने ३३ वर्षीय गोपाल सुनारको मृत्यु भएको छ ।
मकवानपुरको थाहा नगरपालिका-११ कुन्छालस्थित सडकमा ना.६ ख ३९८७ नम्बरको कन्टेनर गाडी अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेर शनिबार बिहान दुर्घटना हुँदा चालक नुवाकोट बेलकोट नगरपालिका-५ बस्ने ४२ वर्षीय दिप श्रेष्ठको मृत्यु भएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।