काठमाडौं । काठमाडौंको तीनकुनेस्थित मिलमा सामूहिक हत्या भएको घटनामा संलग्न रहेको आशंकामा थप एक जना पक्राउ परेका छन् ।आइतबार पेप्सीकोलाबाट प्रहरीले उनलाई पक्राउ गरेको हाे । उनलाई सीसीटीभी फुटेजमा देखिएको आधारमा प्रहरीले पक्राउ गरेको हो । उनीसँग थप सोधपुछको काम भइरहेकाले पूरा विवरण भने प्रहरीले सार्वजनिक गरेको छैन ।
गैरीगाउँको दिव्य समिलमा चौकीदारको काम गर्ने दोलखा घर भएका अन्दाजी ५५ वर्षीय कुमार भुजेल, उनकी पत्नी ५० वर्षीया अम्बिका भुजेल, कुमारकी आमा ७६ वर्षीया शुभद्रा भुजेल र मोरङ बेलवारी स्थायी घर भएका करिब २० वर्षीय युवक नवीन राईको हत्या भएको थियो ।
उनीहरुको धारिलो हतियार प्रहार गरी हत्या भएको थियो । हत्यामा प्रयोग भएको हतियार यसअघि नै प्रहरीले बरामद गरिसकेको थियो । घटना बारे जानकारी दिन प्रहरी कार्यालय पुगेका मोरङका दीपेन्द्र राईलाई प्रहरीले नियन्णमा लिएर सोधपुछ गरेको हो । उनी पनि शरीरमा रगत लागेको अवस्थामा प्रहरी कार्यालय पुगेका थिए ।