ललितपुर । नेपाल तेक्वान्दो संघको बार्षिक कार्यक्रमको अवसर पारेर ब्ल्याक बेल्ट छैठौं डानलाई चैत १० गते एक कार्यक्रमको आयोजना गरी ब्ल्याकबेल्ट छैठौं डानको प्रमाणपत्र वितरण गरिएको छ ।
संघकै सातदोबाटोस्थित केन्द्रीय एकेडेमीमा आयोजित कार्यक्रमका प्रमुख अतिथि तेक्वान्दो संघका केन्द्रीय उपाध्यक्ष एवम सुमेरु ग्रुपका अध्यक्ष समाजसेवी भरत महर्जनले सहभागी ब्ल्याकबेल्ट छैठौं डान खेलाडीहरुलाई प्रमाणपत्र बितरण गर्नुभयो ।
सो प्रमाणपत्र वितरण कार्यक्रममा प्रमुख अतिथी महर्जनले सहभागी खेलाडीहरुलाई यो माथिल्लो स्तरको डीग्री हाशिल गरेकोमा बधाइ तथा शुभकामना दिँदै मन्तब्य राख्ने क्रममा संघको आगामी लक्ष्य १४ औ सागमा राष्ट्रका लागि तेक्वान्दो खेलले धेरैभन्दा धेरै पदक हासिल गर्नु र तेक्वान्दो खेलको गरिमालाई कायम गर्दै यसको माध्यमबाट नेपाल र नेपालीको गौरव उचो पार्ने रहेकोले सबैले आ–आफ्नो तहबाट योगदान दिनुपर्ने धारणा ब्यक्त गरेका थिए । 
त्यस्तै, यसअघि सहभागीहरुलाई बरिष्ठ प्रशिक्षक टीकाप्रसाद लिम्बू र प्रशिक्षक तथा संघका ग्रेडिङ संयोजक नोर्बु लामाले दुई दिनसम्म तयारी प्रशिक्षण दिएका थिए । नेपाल भरिका १२ जना खेलाडी सहभागी भएको यो उच्चस्तरको परिक्षा संघका महासचिव एबम् तेक्वान्दो खेलका ग्रान्ड मास्टर दीपराज गुरुङले लिएका थिए । तेक्वान्दो खेलमा छैटौ डान ब्ल्याक बेल्ट हाशिल गर्न करिब २३ बर्ष सम्म अनवरत प्रशिक्षण गर्नुपर्ने हुन्छ ।
त्यसैगरी, चैत्र ६ गते संघद्वारा ब्ल्याक बेल्ट पाँचौं डानको ग्रेडिङ परिक्षा पनि आयोजना गरेको थियो जसमा ७ जना खेलाडी सहभागी भएका थिए । सहभागीहरुलाई संघका केन्द्रिय अध्यक्ष प्रकाश शम्शेर राणाले प्रमाणपत्र बितरण गरेका थिए ।