नवलपरासी । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीमा एसपी काजी आचार्य सरूवा भएसंगै यहाँको तस्करी धन्दा रोकिएला भन्ने विश्वास गरिएको थियो । राजश्व तिरेर इमानदारी साथ काम गरेका व्यापारीहरू नयाँ प्रहरी प्रमुख आएपछि तस्करी रोकिएला भन्ने सोचमा थिए । तर एसपी बस्ने परासी अनि तस्करीको सन्जाल परासी पूर्वका नाकाहरूबाट खुलेयाम भैरहेको छ । यस्तो संगठित तस्करी झण्डै पाँच बर्ष यता नभएको दाबी यहाँका व्यवसायीहरूको रहेको छ । एसपी काजी आचार्यको सुचना संयन्त्र कमजोर हो या उनलाई मातहतका युनिट प्रमुखले नटेरेका हुन भन्ने प्रश्न पनि बर्दघाटका व्यापारीहरूको रहेको छ । कपडा व्यावसाय गरेका स्थानीय सुरेन्द्र सापकोटा भन्छन्, तस्करी यस्तो संगठित रूपमा चलेको छ कि यसले एकातिर राजश्व मार्ने काम भैरहेको छ भने अर्कोतिर भन्सार तिरेर ल्याएका सामानको व्यापार गर्ने हामी जस्ता व्यापारीहरूलाई व्यवसाय गर्न गाह्रो भैरहेको छ । हुन पनि अहिले कपडा, चिनी, मल, कुखुराको तस्करी सेमरी, भुजहवा लगायतका क्षेत्रबाट व्यापक मात्रामा भैरहेको छ ।
इलाका प्रहरी कार्यालय बर्दघाटले तस्करी सामान पक्राउ नगरी सेटिङमा छोडिदिएको कारण पनि यहाँ तस्करी धन्दाले प्रश्रय पाएको व्यवसायीहरूको भनाई रहेको छ । जागिर अवधि ११ महिना मात्रै रहेका प्रहरी निरीक्षक भीम कार्की अहिले इप्रका बर्दघाटको प्रमुखको रूपमा आएका छन् । अवकाशको मुखमा रहेका अधिकृतलाई कार्यालय प्रमुख नदिने बिभागिय नीति बिपरित कार्की लुम्बिनी प्रदेशको निरीक्षक दर्जाको सबैभन्दा राम्रो , आकर्षक र धेरै अतिरिक्त आम्दानी हुने बर्दघाट इप्रका प्रमुखको जिम्मेवारी दिइएको छ । यसबाट प्रष्ट हुन्छ कि जतिसक्दो खाउ, कमाउ । अर्को इलाका प्रहरी कार्यालय बर्दघाटमा लामो समयदेखि नवलपरासी प्रहरीमा घुमुवा बसेका हवल्दार बिनोद चौधरी यहाँ घुमुवाको रूपमा परिचालित छन् । बिनोद चौधरी विगत १० बर्षदेखि नवलपरासी प्रहरीमा घुमुवाको रूपमा कार्यरत छन् ।

कुनै प्रहरी लगातार १० बर्षदेखि एकै जिल्लामा घुमुवा भएर बसेपछि उसको सम्बन्ध तस्कर , माफिया देखि राम्रा , नराम्रा काम गर्ने सबैसंग हुन्छ नै । त्यसमाथि कार्यालय प्रमुखहरूले घुमुवा परिचालन गरेर जसरी पनि रकम असुली गर्ने परिपाटी चलिरहेको छ। त्यसैको कारण पनि कहिले बेलाटारीको घुमुवा त कहिले कहिले जिल्ला प्रहरी कार्यालय त कहिले बर्दघाटको घुमुवा । अनि लगातार १० बर्ष । अहिले घुमुवा हवल्दार बिनोद चौधरीको आदेशमा बर्दघाटमा चेकजाँच हुने नहुने हुन्छ । मानौं उनी नै यहाँको कार्यालय प्रमुख हुन । एक हवल्दारले भने , घुमुवाको अगाडि हाकिम साप निरीह । केही महिना पहिले चौधरी बिदामा गएको बेला चेकजाँच हुदा तस्करीको सामान बरामद भयो । तस्करहरूले हामीसंग महिनावारी रकम लिने अनि हाम्रो सामान समाउने भनेर चेकपोस्टमा बबाल मच्चाए । पछि केही सामान राखेर अरू धेरै सामान तस्करहरूलाई नै प्रहरीले फिर्ता गरेको थियो । त्यतिबेला एसपी काजी आचार्यले घुमुवा बिदामा भएको र फर्के पछि कारवाही गर्ने र घुमुवाबाट हटाउने जानकारी दिएपनि घुमुवा हवल्दार बिनोद चौधरी अहिलेसम्म हटाइएका छैनन् । उल्टो उनले अहिले आधा जिल्लाको घुमुवा बनेर असुलीको काम गरिरहेका छन् ।
सदरमुकाम परासीको पूर्वका नाकाहरूबाट अहिले तस्करीको लाइन पाउनेहरूमा ध्रुव कपडा, मामा कपडा, केशव, प्रभु, हरिजन सुभाष र अशोकले चिनी, दीपक श्रेष्ठ कुखुरा , मुख्य छन् भने भारतीय माछाको तस्करी गर्नेहरू पनि दर्जन जति छन् । यसका अलावा भारतीय नागरिक लक्ष्मी जैसवालको तस्करीको सन्जाल पनि ठूलो रहेको छ । यी तस्करहरूले घुमुवा हवल्दार बिनोद चौधरीसंगको सेटिङमा ठूलो तस्करी संजाल चलाई रहेका छन् । नरसई, कुठिया, रामनगर, सुस्ता, गुठी पर्साैनी , पचपठा, बसहइया, सेमरी लगायतका नाकाबाट भएको तस्करीको सामान बर्दघाट आउँछ र अन्यत्र जान्छ । एकातिर प्रहरी महानिरीक्षक बसन्त बहादुर कुंवर प्रहरी संगठनमा शुद्धीकरण गर्छु भन्ने अनि एसपी काजी आचार्य तस्करी नियन्त्रण गर्छु भन्ने तर १० औ बर्षदेखि बसेका बदनाम घुमुवा नहटाउने अनि घुमुवाको रूपमा परिचालन गरिरहने । अनि कसरी हुन्छ शुद्धीकरण ।
कांटाबाट मासिक लाख
ट्रक व्यवसायी समितिले भुमही र बासाको राजमार्गको बीचमा कांटा ( ट्रकले बोकेको सामान तौलने ) राखेको छ । नियमले यहाँ नेपाली ट्रकहरू मात्रै कांटामा चढाउनु पर्छ , भारतीय ट्रकलाई पांइदैन । तर यहाँ बस्ने युवकहरूले भारतीय ट्रकहरूलाई समेत तौलनुपर्ने भन्दै जवरजस्ती कांटामा हाल्न लगाउने र एक हजार भारतीय देखि अवस्था हेरेर तीन हजार नेपाली रूपैयाँ सम्म लिने गरेको खुलेको छ। यहाँ गुण्डाहरू राखेर जवर्जस्ती कांटामा लैजाने काम हुने गर्दछ । पीडित व्यवसायीहरूले दर्जनौं पटक यसबारेमा इलाका प्रहरी कार्यालय बर्दघाटमा गुनासो गरेपनि कुनै सुनुवाइ नभएको भैरहवा ट्रक व्यवसायी समितिका एक सदस्यले बताए । जवर्जस्ती कांटामा तौले बापत जिल्ला प्रहरी कार्यालय परासी र इलाका प्रहरी कार्यालय बर्दघाटलाई मासिक १ लाख रूपैयाँ दिने गरेको समेत खुलेको छ। कांटाको सबै सेटिङ मिलाउने काम घुमुवा बिनोदले नै गर्दै आएको इप्रकामा असईले जानकारी दिए । उक्त रकम जिल्ला प्रहरीमा कसले बुझ्छ अहिलेसम्म खुलेको छैन । त्यसमाथि एसपी आचार्य यस्तो घटिया कामबाट रकम लिने हाकिम पनि नभएको ती असईले बताए ।