ललितपुर । आफ्नो अधिकार क्षेत्रभित्र नै नपरेको एउटा वडाको जग्गा अर्को वडाको वडाअध्यक्षले घरबाटो सिफारिस दिई जग्गा खरिदविक्री भएपछि सो विषयमा अख्तियारमा उजुरी परेको छ ।
ललितपुरको दक्षिणी भेगमा पर्ने कोन्ज्योसोम गाउँपालिका वडा नं. ३ को दल्चोकीको कित्ता नम्बर ४७, ४८ र ९ ‘ग’ को १३ रोपनी जग्गा भूमाफियाहरुले किर्ते कागजात खडा गरी खरिद विक्री गरेको पाइएको हो ।

सो जग्गा कोञ्ज्योसोम गाउँपालिका वडा नं. ३ दल्चोकीको जग्गा वडा नं. २ का वडाअध्यक्ष ध्रुवप्रसाद घिमिरेले आफ्नो पदको दुरुपयोग गरी भूमाफियाहरुसँग मिली घरबाटो सिफारिस दिई १३ रोपनी जग्गा मालपोत कार्यालय गोटीखेल ललितपुरबाटै पास भएको छ ।
सो जग्गा खरिद विक्रीमा लाखौं रुपैयाँको आर्थिक चलखेल भएको बुझिएको छ । आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गई वडाअध्यक्ष ध्रुवप्रसाद घिमिरे र जग्गा दलाली कृष्णप्रसाद घिमिरेको चलखेलमा सो जग्गा किर्ते गरी पास भएको स्थानीयले आरोप लगाएका छन् । सो जग्गा खरिदविक्रीको विषयलाई लिएर आफ्नो अधिकार क्षेत्रभित्र परेको जग्गाको विषयमा वडा नं. ३ का वडाअध्यक्ष तिलक बोम्जनले मालपोत कार्यालय ललितपुरमा बुझ्न खोज्दा मालपोत कार्यालय प्रमुख सुवर्ण बज्राचार्यले भेटसमेत नदिएको गुनासो खोजतलाससँग पोखेका थिए ।

आफ्नो क्षेत्रमा नै नपर्ने जग्गा कोन्ज्योसोम गाउँपालिका हाल कलंकी बस्दै आएका भूमाफिया कृष्णप्रसाद घिमिरेको आर्थिक लाभ लिई घरबाटो सिफारिस दिएपछि वडा नं. २ का वडा अध्यक्ष घिमिरेको विरोधमा कोन्ज्योसोम गाउँपालिका वडा नं. ३ का वडाअध्यक्ष तिलक बोम्जनले गाउँपालिकाको न्यायिक समितिमा उजुरी दिएपछि हाल सो जग्गा गाउँपालिकाले रोक्का राखेको किर्ते घरबाटो सिफारिस गर्ने वडाअध्यक्ष ध्रुवप्रसाद घिमिरे आफैले विज्ञप्ति निकाली आफ्नो गल्ती भएको स्वीकार गरेका छन् ।
वडाअध्यक्ष घिमिरे आफू कारबाहीमा पर्ने भएपछि शक्ति केन्द्र अर्थात संघीय सांसद र प्रदेश सांसदसँग हारगुहार माग्दै विभिन्न संचारकर्मीहरुलाई आर्थिक प्रलोभनसमेत दिन पछि परेका छैनन् । घिमिरेले गत शुक्रबार ललितपुर जिल्ला अदालत अगाडि संचारकर्मीहरुलाई आफू अनुकुलको समाचार प्रकाशित गरी आफूलाई लिंक पठाईंदिन र त्यसपछि विज्ञापनस्वरुप रकम दिने प्रलोभन समेत दिएका थिए । तर, वडाअध्यक्ष घिमिरेको यस्तो प्रस्तावले संचारकर्मीहरु झन् आक्रोसित भई त्यहाँबाट हिँडेका थिए ।

जग्गा दलाल कृष्ण प्रसाद घिमिरे भने भूमिगत भएको र यो घटनालाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परिसकेको छ भने सो विषयलाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गरिरहेको अख्तियार स्रोतले जानकारी गराएको छ ।