चन्द्रौटा । सरकारले कुखुरा तथा कुखुराजन्य पदार्थको नियन्त्रणको व्यवस्था मिलाउन भारतसँग सीमा जोडिएका जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई निर्देशन दिएपनि सीमावर्ती क्षेत्रबाट हुने तस्करी रोकिएको छैन ।
सरकारको निर्देशन बिपरित सीमा क्षेत्रबाट खुलेयाम कुखुराको तस्करी भैरहेको छ । गृह मन्त्रालयले सीमा क्षेत्रमा गस्ती, निगरानी बढाउन, सीमा क्षेत्रमा अवैध तथा मापदण्ड विपरीत खोलिएका कुखुरा फार्म, बधशाला ह्याचरी र कोल्ड स्टोरलाई हटाउन र भन्सार तथा क्वारेन्टाइनको प्रभावकारिता वृद्धि गर्न आवश्यक समन्वय गर्न निर्देशन दिएको थियो । तर त्यस विपरीत सीमावर्ती क्षेत्रबाट कुखुराको तस्करी भैरहेको छ ।
कपिलवस्तुको पकडी क्षेत्र वरपरका सीमावर्ती क्षेत्रबाट कुखुराको तस्करी व्यापक मात्रामा भैरहेको छ । यो तस्करीमा इलाका प्रहरी कार्यालय पकडीका प्रहरी निरीक्षक शिव कुमार क्षेत्रीले परिचालन गरेका घुमुवाहरूले साथ दिइरहेको समेत स्थानीय व्यवसायीहरू बताउँछन् । घुमुवाहरूले तस्करीको कुखुरा पक्राउ गर्नुको साटो उनीहरूलाई छोडिदिने र पकडी मातहतका चौकीले पक्राउ गर्न खोजे निरीक्षक शिव कुमार क्षेत्रीको लाइन रहेको बताउंदै आएको समेत स्थानीय व्यावसायीहरू बताउँछन् । निरीक्षक क्षेत्रीले हवल्दार सुरेन्द्र रजत र सहायक हवल्दार अशोक यादवलाई घुमुवाको रूपमा परिचालन गरिरहेका छन् । यी दुबै घुमुवा कपिलवस्तुमा पुराना घुमुवा मात्रै होइन बारम्बार बिवादमा परेका बदनाम घुमुवा हुन ।यो संवाददाता एक साता पकडी क्षेत्रको सीमावर्ती क्षेत्रमा अनुगमन गर्ने क्रममा यस क्षेत्रबाट व्यापक मात्रामा भारतीय कुखुराको तस्करी भैरहेको र यो तस्करीमा इप्रका पकडी , निरीक्षक क्षेत्रीले परिचालन गरेका घुमुवाहरू मात्रै नभएर पकडी मातहतका चौकीका प्रमुखहरूले संरक्षण र साथ दिएको देखियो ।
यहाँका स्थानीय जनप्रतिनिधि र प्रहरी निरीक्षक शिव कुमार क्षेत्रीको बीच राम्रो सम्बन्ध पनि रहेनछ । जनप्रतिनिधिहरूले जिल्ला प्रशासन कार्यालय , प्रहरी प्रधान कार्यालय र गृह मन्त्रालयमा समेत निरीक्षक क्षेत्रीको आचरण , तस्करी धन्दा , उनका घुमुवाको असुली कार्य र कानुन विपरीत गरेका कार्यहरू सहित ज्ञापनपत्र दिएको समेत थाहा भएको छ। तर उल्टो प्रहरी प्रधान कार्यालयले आफ्नै नीति बिपरित उनले यहीँ इप्रकामा दरबन्दी बनाई दिएपछि स्थानीय जनप्रतिनिधि अझै रुष्ट बनेका छन् । प्रहरी प्रधान कार्यालयले आंफ्नै नीति बिपरित उनलाई इप्रका पकडीमा दरबन्दी बनाएको छ। इलाका प्रहरी कार्यालय डेढगांउ नवलपरासी दरबन्दी भएर त्याहां काम गरि ११ महिना अगाडि इप्रका पकडी कपिलवस्तु काजमा गएका निरीक्षक क्षेत्रीको केही दिन अगाडि भएको सरूवामा यहीँ दरबन्दी बनाइएको छ। यस हिसाबले कुनै काण्ड लागेन भने उनी अझै एक बर्ष यहीँ इप्रकामा रहेने भए। रूपन्देही घर भएका र असईबाट प्रहरी सेवा प्रवेश गरेका क्षेत्रीलाई भुटानी शरणार्थी प्रकरणमा हाल पूर्पक्षका लागि कारागारमा रहेका कांग्रेस नेता बालकृष्ण खांडको आशिर्वाद भएको कारण उनले नीति बिपरित ११ महिना काजमा कार्यरत रहेपनि फेरि दरबन्दी बनाउन सफल भएको बताइन्छ । क्षेत्रीका बाबु नेपाली काङ्ग्रेसको राजनीति गर्ने व्यक्ति हुन । सरकारको नीति बिपरित कुखुराको तस्करी धन्दा चलेको बिषयमा प्रश्न गर्दा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका एसपी प्रेम बस्नेतले आफू बिदामा रहेको बताए ।