काठमाडौं । देशमा हिन्दु र बौद्ध धर्मविरुद्ध योजनावद्ध आक्रमणको रहस्य खुल्दै गएको छ । यसका लागि मुख्य दलका प्रभावशाली नेताहरुलाई नै प्रभावमा पारिएको छ । कानूनले वर्जित गरेको गाई गोरु मार्ने मात्र होइन भोज नै गर्ने क्रियाकलाप पूर्वी नेपालमा भइरहेका छन् । त्यसलाई चुनाव जितेका केही चर्चित पात्रहरुले भित्री रुपमा नेतृत्व लिएका छन् । उनीहरु धार्मिक हिंसा भड्काएर राजनीतिक लाभ लिने षड्यन्त्रमा पनि लागेका छन् । तर, कानूनविपरितको गोबध र सार्वजनिक भोजभत्तेरविरुद्ध मुख्य दल र तिनका मुख्य नेताहरु कोही नबोल्नुले हिन्दु र बौद्ध धर्मविरुद्धको आक्रमणको योजना छताछुल्ल भएको छ ।
गोबधविरुद्ध मुख्य दलमध्ये राष्ट्रिय प्रजातन्त्र पार्टी मात्र बोलेको छ । नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी पार्टी कोही पनि बोलेनन् । काँग्रेसबाट शंकर भण्डारीले मात्र विज्ञप्ति जारी गरेर विरोध जनाए । मूलधारका दल र तिनका नेता देशको संविधान र कानूनविरुद्धको गम्भीर गतिविधिमा नबोल्नुले उनीहरु कुनै ठूलै योजना बनाउनेहरुको ट्रयापमा परिसकेको बुझ्न सकिन्छ ।
धर्मनिरपेक्षता कायम गर्न राष्ट्रिय सहमति बनाएका मुख्य दलहरु देशको धर्म संस्कृतिको रक्षामा गम्भीर छैनन् भन्ने पुष्टि भएको छ । यो घटनासँगै जनतामा नेताहरुप्रति विश्वास घटेर गएको छ । ९० प्रतिशत हिन्दू र बौद्ध धर्मालम्बीले मुख्य दलका नेताहरु आफूहरुको हितमा भन्दा आफ्नो हितमा केन्द्रित भएको बुझ्न थालेका छन् । सामाजिक सञ्जालमा उनीहरुविरुद्ध असन्तुष्टि झन् बढेको छ । पूर्वसचिव भीम उपाध्यायले खुलेर हिन्दू राष्ट्रको पक्षमा लेख्न थालेका छन् । उनले धर्मनिरपेक्ष देशमा हिन्दू र बौद्ध धर्म सिध्याउने अभिप्रायले आएको टिप्पणी गर्दै आएका छन् ।
हिन्दू र बौद्ध धर्मगुरुहरुले गोबधको विरोध गरेका छन् । विश्व हिन्दू परिषद यसविरुद्ध खुलेर लागेको छ । हिन्दू स्वयंसेवक संघले आफ्ना कार्यकर्तालाई सतर्क हुन भनेको बुझिएको छ । तर, हिन्दू धर्मविरोधी समूहले गोबधको विरोध गर्नेहरुलाई कपोकल्पित आरोप लगाएर घटनालाई अन्यत्र मोड्न खोजेका छन् । हिन्दूविरोधी अभियानका लागि देशमा अरबौं रकम भित्रिएको र त्यसको अनुसन्धानमा पनि सरकार चुकेको छ । सरकार नेपालमा हिन्दूविरोधी अभियान चलाउने शक्तिराष्ट्रको लाचार छायाँ जस्तै बनेको छ । प्रचण्ड, शेरबहादुर देउवा, केपी शर्मा ओली, माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई मात्र नभई रवि लामिछाने समेत चुप छन् । उनीहरुको मौनताले धेरै आशंका जन्माएको छ ।
देशमा हिन्दू धर्मगुरुहरु आउँदा समेत विरोध गर्ने समूह देखापर्न थालेको छ । विभिन्न आरोपहरु लगाएर हिन्दू धर्ममाथि चौतर्फी आक्रमणको शृंखला चलिरहेको छ । यसले कुनैपनि बेला खतरनाक अवस्था आउन सक्ने देखिएको छ । देशमा २०७२ सालमा संविधान जारी हुँदा धर्मनिरपेक्ष उल्लेख गर्नुभित्र पनि षड्यन्त्र थियो । गिरिजाप्रसाद कोइराला स्वयं यो शब्दप्रति असन्तुष्ट थिए । तर, तत्कालीन सभामुख सुवासचन्द्र नेम्वाङले योजनावद्ध तरिकाले घुसाइदिएका थिए । यो शब्द घुसाउन अरबौंको चलखेल भएको चर्चा अझै चलिरहेको छ । देशको धर्म बेच्न नेताहरुले ठूलै आर्थिक सम्झौता गरेको तथ्यहरु विस्तारै छरपष्ट भइरहेका छन् । राजनीतिशास्त्रका विद्यार्थीले कुनैबेला यसबारे अध्ययन गर्ने निश्चित नै छ ।
पछिल्ला घटनाक्रमले देशभर हिन्दूहरु एक हुने अवस्था विकास गरेको छ । बौद्ध समुदायले समेत गोबध आफूहरुको धर्म विपरित भनिसकेका छन् । नेपालमा आदिवासी जनजातिलाई हिन्दू नभएको जसरी देखाउन खोजिएको छ । तर, उनीहरुलाई आफ्नै धर्म र संस्कृति माँसेर पश्चिमा प्रभावमा इशाई धर्म मान्न विवश पार्ने योजनाहरु चलिरहेका छन् । उनीहरुको अस्तित्व नै समाप्त पारी हिन्दू र बौद्धविरुद्ध भड्काउन खोजिएको छ । यसको रहस्य पनि खुल्दै गएको छ । रोचक त यो छ कि मुख्य दलका नेताहरु धर्मको राजनीति गर्न हुन्न भन्दै पश्चिमा प्रभावमा परेर होली वाइन पिउन समेत दौडिएको इतिहास साक्षी छ । सनातन धर्ममाथि आक्रमणको बन्दुक बोकाइएका छन् त्यस्ता नेताहरु । यसले कुनैपनि बेला देशमा ठूलो दुर्घटनाको खतरा बढेको छ ।
हिन्दू र बौद्ध समुदायलाई फुटाएर धर्मान्तरणको लहरलाई रोक्न नसक्ने चलखेल नभएको होइन । तर, यो क्रम शिखरमा पुग्नै लाग्दा हिन्दू र बौद्ध समुदाय सतर्क भएका छन् । उनीहरुबीच एकतावद्धको अभियान नै चलेको छ । देशका विभिन्न स्थानमा गोबधको विरुद्ध प्रदर्शनहरु भएका छन् । हिन्दूहरुले सामाजिक सञ्जालमा अभियान नै चलाएर एकताको लहर ल्याएका छन् । यसले धर्म बेचेर खाने नेताहरु आत्तिएका छन् । यतिसम्मकी २०८४ को चुनाव धर्मनिरपेक्षको वकालत गर्नेहरुका लागि धक्का खानुपर्ने चुनाव बन्ने आँकलनहरु हुन थालिसकेको छ ।