काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका सामु अब नैतिक संकट परेको छ । सर्वोच्च अदालतले उनको प्रतिनिधि सभा विघटनको कदमलाई असंवैधानिक ठहर गर्दै प्रतिनिधि सभा पुनःस्थापना गरेपछि उनीमाथि नैतिक संकट परेको हो । अब उनी राजीनामा दिने मनस्थितिमा पुगेका छन् । ओलीनिकट नेता प्रदीप ज्ञवालीले हिजो स्थायी कमिटी बैठकबारे जानकारी दिँदै राजीनामा दिने या नदिनेबारे प्रधानमन्त्री परामर्श गर्न थालेको बताए । यसको अर्थ ओली राजीनामा दिने मनशायमा पुगेका छन् । उनी विभिन्न दलका नेताहरुसँग छलफल गर्न थालेका छन् । त्यसपछि निर्णयमा पुग्ने बुझिएको छ ।
सर्वोच्च अदालतको संवैधानिक इजलासले संसद विघटन गर्ने कदमविरुद्ध परेको रिटमाथि उत्प्रेषण परमादेश आदेश जारी गरी पुनःस्थापनाको पक्षमा फैसला गरेको छ । योसँगै ओली नैतिक संकटमा परेका हुन् । अब उनीसँग तीनवटा विकल्प बाँकी छ ।
विकल्प १ मा प्रधानमन्त्री ओलीले आफूले चालेको कदम असंवैधानिक ठहर भएपछि नैतिकताका आधारमा राजीनामा दिनुपर्ने हुनसक्छ । उनी त्यसका लागि परामर्श गर्दैछन् ।
विकल्प २ मा ओलीले प्रतिनिधि सभामा अविश्वासको प्रस्तावको सामना १३ दिनभित्र गर्नुपर्ने हुन्छ । प्रतिनिधि सभामा यसअघि नै उनीविरुद्धको अविश्वासको प्रस्ताव दर्ता छ । बहुमत जुटाउन नसके उनी स्वतः पदमुक्त हुनेछन् । बहुमत सिद्ध गरे उनी प्रधानमन्त्री रहिरहन्छन् । ओलीले मन्त्रिपरिषदबाट प्रतिनिधि सभा बैठकको आव्हान गर्न राष्ट्रपति समक्ष अर्को हप्ता सिफारिश गर्ने बुझिएको छ । नेता ज्ञवालीले यसबारे जानकारी गराए ।
विकल्प ३ मा ओलीले संकटकालको सिफारिश गर्न सक्छन् । मन्त्रिपरिषद बैठक बसेर संकटकालको सिफारिश गरी राष्ट्रपतिसमक्ष पेश गरेर घोषणा गर्न सक्छन् । त्यो उनको राजनीतिक जीवनमा अर्को जोखिम बन्न सक्छ । त्यो सम्भावना टरिसकेको छ ।