काठमाडौं, फागुन २ । प्रतिनिधि सभा विघटनविरुद्ध सडक संघर्षमा उत्रिएको प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले तेस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गर्दैछ ।
आइतबार (आज) दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालयमा तेस्रो चरणको आन्दोलन घोषणा कार्यक्रम रहेको नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए ।
नेता रिजालले सामाजिक सञ्जाल ट्विटरमा एक ट्विट लेख्दै घोषणा कार्यक्रममा उपस्थितिका लागि पत्रकारहरुलाई अनुरोध समेत गरेका छन् ।
‘आज २०७७ फागुन २ गते दिउँसो २ बजे पार्टी कार्यालय पेरिस डॉडामा प्रतिगमनविरोधी संघर्षको तेस्रो चरणको कार्यक्रम घोषणा हुने भएकाले सञ्चारकर्मी मित्रहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध छ’, रिजालले ट्विटरमा लेखेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि नेकपाको प्रचण्ड नेपाल समूह संघर्ष समिति नै बनाएर आन्दोलनमा उत्रिएको छ ।
नेकपाले यसअघि प्रतिनिधि सभा विघटनको विरोधमा केन्द्रीय सभादेखि वडा तहसम्म प्रदर्शन गरिसकेको छ ।