काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि सबैभन्दा फाइदा दक्षिणपन्थी र उग्रवामपन्थीलाई पुगेको छ । सबैभन्दा फाइदा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई पुगेको छ । ओलीको कदमलगत्तै विप्लवले कडा कदम चाल्ने घोषणा गरिसकेका छन् । उनले अन्य कम्युनिस्ट घटकसँग रणनैतिक मोर्चा बनाइसकेका छन् । विप्लवको महत्व यसरी बढेको छ कि प्रधानमन्त्री ओलीले समेत उनीसँग अनौपचारिक वार्ताका लागि खटाइसकेका छन् । प्रचण्डले पनि विप्लवको साथ लिने प्रयास गरिरहेका छन् ।
विप्लवसँग वार्ता गर्न ओलीले खानेपानी मन्त्री मणि थापालाई जिम्मा दिएका छन् । थापाले नख्खु कारागार पुगेर विप्लव समूहका नेता धर्मेन्द्र बास्तोलासँग कुराकानी गरेका छन् । उनले वार्ताको प्रयास गरिरहेका छन् । यसैगरी, प्रचण्डले पनि विभिन्न माध्यमले विप्लवसँग कुराकानी बढाएको बुझिएको छ । ओलीको पेलाईमा परेका प्रचण्डका लागि अहिलेको संघर्षमा सबै किसिमको साथ जरुरी रहेको छ । यसले विप्लव महत्वमा परेका छन् ।
यसैगरी, विप्लवले भने शक्ति सञ्चयसँगै खतरनाक रणनीतिहरु बनाएका छन् । उनले अन्य कम्युनिस्ट घटकसँग रणनैतिक संयुक्त मोर्चाको आज घोषणा गर्दैछन् । आजै विप्लवसहितको चार कम्युनिस्ट घटकले आन्दोलनको पनि घोषणा गर्ने भएका छन् । कम्युनिस्ट घटकहरुले क्रान्तिकारी संयुक्त रणनैतिक मोर्चा बनाइसकेका छन् । रणनैतिक संयुक्त मोर्चामा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन वैद्य किरण नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी छन् । उनीहरुले समाजवाद जनगणतन्त्र स्थापना गर्ने उद्देश्यका साथ रणनैतिक मोर्चा बनाएका हुन् । मोर्चाले प्रज्ञा भवन कमलादीमा आज अवधारणा सार्वजनिक गर्दैछन् । भूमिगत रुपमा रहेका विप्लव वर्तमान सरकारप्रति आक्रामक बन्दै जाँदा अन्य चार कम्युनिस्ट घटकसँग रणनैतिक मोर्चा बनाएर सडकमा आउन लाग्नुलाई अर्थपूर्ण मानिएको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित चारवटा कम्युनिस्ट शक्तिले प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशीको इशारामा संसद बिघटन गरेको आरोप लगाएको थियो । उनीहरुले संसदीय व्यवस्था नै असफल भएको निष्कर्ष समेत निकाल्दै जनगणतन्त्र स्थापनाका लागि एक भएर अगाडि बढ्न लागेको जनाएका थिए ।
यसअघि १४ पौषमा प्रेस ज्ञिप्तिमार्फत् विप्लव र वैद्यसहित चारवटा कम्युनिस्ट संगठनका प्रमुखहरुले संयुक्त मोर्चा निर्माण गर्ने सहमतिबारे उल्लेख गरेका थिए । संयुक्त मोर्चामा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव, नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरण, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेल र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका संयोजक आहुतीले हस्ताक्षर गरेका थिए । विप्लव समूह हिंसात्मक गतिविधिमा समेत संलग्न हुँदै आएको छ । उसका कार्यकर्ता सुरक्षाकर्मीबाट मारिएको तथ्यांक छ । विप्लव समूहबाट पनि हत्याका घटनाहरु भएका छन् । देशमा विप्लवबाट अर्को हिंसात्मक गतिविधिको खतरा हुनसक्ने विषय झन् उठेको छ । ओलीको कदमले विप्लवलाई त्यस्तो अवसर आउन सक्ने खतरा पनि औल्याइएको छ ।
यसैगरी, विप्लव समूहले जनयुद्ध दिवस मनाउने घोषणा गरेको छ । २०५२ साल फागुन १ गते तत्कालिन नेकपा माओवादीले हिंसात्मक जनयुद्ध शुरु गरेको २६ वर्ष पुग्न लागेकोमा विप्लवले सक्रियता बढाएको हो । फागुन १ गते विप्लव समूहले जनयुद्ध दिवस मनाउन देशव्यापी तयारी गरिसकेको जनाएको छ । विप्लव समूहको धारणा सार्वजनिक हुँदै आएको इरातोखबरले जनयुद्ध दिवसलाई उत्सवको रुपमा मनाउने जनाएको हो । विप्लव समूहले जनयुद्ध मनाउन लागिरहँदा सुरक्षा शतर्कता बढाइएको छ । विप्लव समूहले हिंसात्मक गतिविधि गर्न सक्ने भन्दै सुरक्षा निकाय शतर्क भएको बुझिएको छ । नेपाल कम्युनिस्ट पार्टीका हालका अध्यक्ष प्रचण्डको नेतृत्वमा तत्कालिन माओवादीले १० वर्ष लामो जनयुद्ध गरेको थियो । जनयुद्धमा १८ हजारको ज्यान गएको थियो ।