काठमाडौं । राजा वीरेन्द्र शाह र उनको परिवारको वंशनाश हुँदा सिंगो देश नै शोकाकुल भयो । तर, केही व्यक्तिहरुलाई भने दरबार हत्याकाण्डले धर्तीबाट एकैपटक उचाईमा पु¥यायो । यसरी उचाईमा पुग्ने पात्र हुन् नेपालका एकमात्र डलर अर्बपति बिनोद चौधरी । दरबार हत्याकाण्डपछि नै बिनोद चौधरीको सम्पत्ति रात दुई गुणा दिन चौगुणा वृद्धि भयो । यसको कारण हो राजा वीरेन्द्र र परिवारको विदेशस्थित सम्पत्ति हात पार्नु । विश्वस्त स्रोतका अनुसार विदेशमा राजा वीरेन्द्र शाहको सम्पत्ति चौधरीले नै चलाएका थिए । जसमध्ये मालदिभ्स र दुबईको ताज होटल पनि रहेको छ ।
सार्कका संस्थापक नेतामध्ये राजा वीरेन्द्र पनि एक थिए । उनको मालदिभ्सका तत्कालीन राष्ट्रपति मोहम्मद अब्लुल गयुमसँग सुमधुर सम्बन्ध थियो । गयुमले मालदिभ्सको ताज होटल बनाउन राजा वीरेन्द्रलाई जग्गा उपहारको रुपमा दिएका थिए । त्यो बिनोद चौधरीको हातमा कसरी पुग्यो ? दुबईस्थित ताज होटल पनि चौधरीको हातमा कसरी पुग्यो ? जबकि त्यो पनि भित्री रुपमा वीरेन्द्रकै थियो । वीरेन्द्रले सुल्तानबाट जग्गा उपहार पाएर ताज होटल बनाउन लगाएका थिए । विश्वका शक्तिशाली नेतासँग सुमधुर सम्बन्ध बनाएका थिए वीरेन्द्रले । उनले विश्वास गरेका व्यक्तिहरुलाई त्यस्ता सम्पत्तिको संचालनको जिम्मा दिएका थिए । जसमध्ये थिए बिनोद चौधरी ।
विश्वस्त स्रोतका अनुसार दरबार हत्याकाण्डपछि वीरेन्द्रको सम्पत्ति खोज्न गोप्य कार्यदल बनेको थियो जसमा विदेशीहरु संलग्न थिए । त्यसले वीरेन्द्रको सम्पत्ति खोजेको थियो । उक्त कार्यदलले विभिन्न देशमा रहेको वीरेन्द्र र उनको परिवारको नाममा रहेको सम्पत्तिको लगत निकालेको थियो । तर, पछि अधिकांश सम्पत्ति बिनोद चौधरीको हातमा परेको छ । त्यही सम्पत्तिले उनी डलर अर्बपति बन्न पुगे ।
राजा देखि प्रधानमन्त्रीहरुलाई प्रयोग
बिनोद चौधरीले राजा वीरेन्द्रदेखि देशमा प्रधानमन्त्री भएका धेरैजसोको कम्पनी देखाइरहेका छन् । अफसर आइरल्याण्ड कम्पनीले नाबिलमा लगानी पारदर्शी छैन । यसमा कारबाही गर्नुपर्नेमा राजनीतिक दबाबका कारण रोकिएको छ । अफसोर कम्पनीको लगानी र विदेशमा नाफा लाने कदम नै शंकास्पद छ । यो सिधा मनी लन्ड्रिङ हो ।
नेपालमा मनी लन्ड्रिङका गतिविधिलाई जिम्मेवार निकायले समेत कारबाही नगरेपछि फाइनान्सिङ एक्सन ट्रास्क फोर्स एफएटीएफले कालो सूचीमा राख्न खोजिरहेको छ । यसमा चौधरीको नाबिल बैंकमा लगानी गर्ने आइरल्याण्डको अफसोर कम्पनी पनि एउटा मुख्य कारण हो । आइरल्यान्डको उक्त कम्पनीले कसरी बैंकको शेयर किन्यो ? यसबारे अनुसन्धान निकायलाई जानकारी भएपनि राजनीतिक दबाबका कारण रोकियो । पछिल्लो समय अनुसन्धान बढेको विश्वस्त स्रोतले बताएको छ ।
बिनोद चौधरी नेपाली नागरिक हुन् । उनले संसारको जुनसुकै देशमा लगानी गरेपनि आफ्नो आयको घोषणा गरी कर तिर्नुपर्छ । तर, उनले विदेशमा कमाएको धनको कर तिरेका छैनन् देशलाई । अमेरिका तथा यूरोपका जुनसुकै देशका नागरिकले विदेशमा कमाएको रकमको कर तिर्नेगर्छ । तर, नेपालमा विदेशमा आर्जन गरेको धनको कर नतिरी चौधरीले चौतर्फी लाभ लिइरहेका छन् । चौधरीको हातमा रहेको नाबिल बैंकमा नेपाल ट्रष्टको आधा अर्बभन्दा बढी रकम बराबरको शेयर रहेको । नेपाल ट्रष्ट राजा वीरेन्द्र र उनको परिवारको नामको सम्पत्ति राष्ट्रियकरणका लागि गठन गरिएको संस्था हो । यसको चल सम्पत्ति पनि चौधरीको नियन्त्रणमा रहेको बैंंकमा रहनु रोचक पक्ष हो ।
सरकारी संस्थाको जग्गामा नियन्त्रण
बिनौद चौधरीका नेपालस्थित कम्पनीहरुले महत्वपूर्ण स्थानका जग्गाहरुमा नियन्त्रण बनाएको छ । साल्ट ट्रेडिङ, खाद्य संस्थान जस्ता जग्गाहरु चौधरी ग्रुपको नियन्त्रणमा रहेको छ । ती जग्गाहरु कौडीको मूल्यमा भाडामा लिइएको छ । बजारमा चल्तीको भन्दा निकै कम मूल्यमा भाडामा लिइएका त्यस्ता जग्गाबाट उसले ठूलो फाइदा उठाइरहेको छ । यसतर्फ पनि जिम्मेवार निकायले ध्यान दिन सकेको छैन ।