अमात्यको नेतृत्वमा पहिरोका कारण अवरुद्ध कान्तिलोकपथ खुलाइँदै

22.8k Shares

ललितपुर । दोस्रो कर्णालीको रुपमा रहेको दक्षिण ललितपुरमा हिजो साँझदेखि रातभरी परेको पानीका कारण पहिरो जाँदा कान्तिलोकपथ अवरुद्ध बनेको छ ।
सो सडक खण्ड पहिरोका कारण अवरुद्ध बन्दा सो क्षेत्रका किसानहरुले तरकारी, दूध दैनिक ओसारपसारमा समस्या पर्नुका साथै दैनिक जीवनयापन समेत कष्टकर बनेको छ ।
दक्षिण ललितपुरको मुख्य सडकको रुपमा रहेको कान्तिलोकपथ पहिरोका कारण पटकपटक अवरुद्ध हुँदा सो क्षेत्रबाट निर्वाचित जनप्रतिनिधिहरुले खासै चासो नदेखाएको स्थानीयले आक्रोस पोखेका छन् ।

चुनावताका निर्वाचित प्रतिनिधिसभा सांसद नवराज सिलवाल, प्रदेशसभा सांसद चेतनाथ सञ्जेललगायतले विकासको मूल नै फुटाइदिने ठूलै आश्वासन दिएका थिए । तर, तरकारी, फलफुल, दुधलागयतका सामाग्रीहरु उपत्यकाका बजारसम्म लाने मुख्य सडकमा पटक—पटक पहिरो आई अवरुद्ध हुँदा उनीहरुले सो पहिरो पन्छाई सडक खुलाउने काम समेत नगरेको गुनासो सो क्षेत्रका किसानले गरेका छन् । वर्षाका कारण पटक—पटक पहिरो आई सडक अवरुद्ध हुँदा काठमाडौं उपत्यकाको बजारमा लाने लाखौंको दुध फाट्नुका साथै तरकारी, फलफुल कुहिनाले ठूलै मारमा परेको माल्टावासीले खोजतलासलाई फोनमार्फत बताएका छन् ।
यसरी, पहिरोका कारण लाखौंको दुध फाटेको र तरकारी, फलफुलहरु कुहिएर सडेको जानकारी पाएपछि नेपाली कांग्रेस ललितपुरका सभापति मदनबहादुर नेतृत्वमा सो क्षेत्रमा नेका नेता तथा कार्यकर्ताहरु अबलोकन गर्न पुगेका छन् । अबलोकनकै क्रममा आज बिहीबार बिहान करिब ९ बजेदेखि अवरुद्ध भएको बाटो खुलाउने कार्य गरेका छन् ।
पार्टी सभापति अमात्यसहित पूर्व अर्थराज्य मन्त्री उदय शमशेर राणा, युवा नेता मीन कृष्ण महर्जन, बागमती गाउँपालिका प्रमुख वीर बहादुर लोप्चन, उप प्रमुख रन्जना घिमिरे, वडा अध्यक्ष तथा नेका बागमती गाउँपालिका सभापति बिष्णु तिमल्सिना, जिल्ला सदस्यहरु रामकृष्ण हुमागाई, प्रभाकर पोखरेल, ललितपुर क्षेत्र नं. १ प्रदेश ‘ख’ सभापति रामकृष्ण लामा(इन्द्र), नेविसंघ जिल्ला सचिब दिपक घिमिरे (समीर), लपुक्षेत्र नम्बर एकका तरुण सभापति कमल लो तामाङलगायतको सक्रियतामा किसानहरुको सहजीकरणको लागि स्क्याभेटर र डोजर लगाएर बाटो खुलाउने कार्य गरेका छन् ।

सम्बन्धित समाचार