ललितपुर । ललितपुरको चापागाउँमा लौह पुरुष सर्वमान्य नेता गणेशमान सिंहको सम्झनामा राष्ट्रिय खुल्ला किक बक्सिङ प्रतियोगिता भदौं ७ गतेदेखि हुने भएको छ ।
सर्वमान्य नेता बीर गणेशमान सिंहको नाममा आयोजित राष्ट्रिय खुल्ला किक बक्सिङ प्रतियोगिता गोदावरी नगरपालिका चापागाउँको प्याङगाउँ खेल मैदानमा चारपटक भइसकेको छ । यो वर्ष पनि पाँचौं सर्वमान्य नेता वीर गणेशमान सिंहको सम्झनामा राष्ट्रिय खुल्ला किक बक्सिङ प्रतियोगिता आगामी भदौ ७ गतेदेखि ९ गतेसम्म चापागाउँको प्याङगाउँ खेल मैदानमा हुनेछ । सो प्रतियोगिता ललितपुर किक बक्सिङ संघ र ललितपुर जिल्ला खेलकुन विकास समितिको संयुक्त आयोजनामा हुने किक बक्सिङ संघ तथा ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तथा पूर्व किक बक्सिङ च्याम्पियन विनोद महर्जनले बताएका छन् ।
गोदावरी नगरपालिका वडा नं ११ चापागाउँको प्याङगाउँ खेल मैदानमा आयोजना हुने प्रतियोगितामा महिलातर्फ ५०, ५५, ६०, ६५ केजी मुनी र खुल्ला तौल समूहमा प्रतिस्पर्धा हुनेछ । यसैगरी पुरुषमा ५०, ५५, ६०, ६५, ७० केजी मुनी र खुल्ला तौल समूहमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा सहभागी हुने खेलाडीको तौल २०८० भाद्र ५ र ६ गते बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म लगनखेल डोजो ललितपुरमा गराइने छ । प्रतियोगिता विश्व किक बक्सिङको नियमअनुसार खेलाईने आयोजकले जानकारी गराएका छन् ।
प्रतियोगितामा कराते, उसु, बक्सिङ, तेक्वान्दो, आई.टि.एफ., फुल कन्ट्याक्ट कराते, मुआय थाई र विभागीय टिम नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेनाका खेलाडीले प्रतिस्पर्धा गर्ने ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जनले जानकारी गराएका छन् ।
खुल्ला प्रतियोगिता भएकाले देशभरीबाट खेलाडीहरु भागलिन आउने हुँदा उपत्यका बाहिरबाट आउने खेलाडीहरुलाई खाना र बसोबासको व्यवस्था मिलाइएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा प्रथम हुने प्रत्येक तौल समूहका प्रथम हुने खेलाडीलाई ३० हजार द्वितीय हुने खेलाडीलाई १५ हजार र तेस्रो हुने दुई खेलाडीलाई जनही ८-८ हजार नगदसहित मेडल प्रदान गरिने छ । त्यस्तै प्रतियोगितामा उत्कृष्ट पुरुष तथा महिला खेलाडीले २५-२५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।
खेलमा प्रथम हुने टिम च्याम्पियनले नगद १ लाख रुपैयाँ प्राप्त गर्नेछ भने दोश्रो हुने टिम च्याम्पियनले ५० हजार नगद प्राप्त गर्ने आयोजकले जनाएको छ ।
उक्त प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुको सहभागी हुनेछ । प्रतियोगितामा किक बक्सिङ संघ संरक्षक राष्ट्रिय खेलकुद परिषद पुर्ब कोषाध्यक्ष खेलकुद जगतका हस्ति बागमती प्रदेश सभा सदस्य माननीय मीनकृष्ण महर्जनको विशेष भुमिका रहने अध्यक्ष बिनोद महर्जनले जानकारी गराएका छन् ।