कोरोना भाइरस पूर्णरुपमा नियन्त्रण नआएसम्म शैक्षिक संस्था खुल्नुहु“दैन

17.4k Shares

बाल मनोविज्ञानमा भारतबाट विधावारिधि गरिरहनुभएकी बाल स्वास्थ्य नर्स सुरक्षा सुवेदी विगत पाँच बर्षदेखि ललितपुरको एशियन कलेज फर एडभान्स स्टडीजमा प्राध्यापन गदै आइरहनुभएको छ । त्रिभुवन विश्वविधालयबाट पनि समाजशास्त्रमा स्नातकोत्तर गर्नुभएकी सुवेदीले स्नातक तहका नर्सिङ्ग विधार्थीहरुलाई लक्षित गरी बाल स्वास्थ्य नर्सिङ्ग सम्बन्धी पुस्तकहरुको प्रकाशनका साथै विभिन्न लेख रचना तथा अनुसन्धानात्मक कार्यहरु गर्नुका साथै पुस्तक पनि प्रकाशित गर्नु भएको छ । कोरोना भाइरसबाट प्रभावित बालबालिकाको शैक्षिक क्षेत्र तथा अन्य विविध विषयमा खोजतलास साप्ताहिकले सुवेदीसँग गरिएको संक्षिप्त कुराकानी ः
० अनलाईन कक्षाले विद्यार्थीको भविष्य कतातिर लाँदैछ ?
कोरोन ाभाइरसका कारण शिक्षा क्षेत्र झण्डै एक वर्ष अगाडिदेखि बन्द रहेको अवस्थामा विद्यार्थीहरुका लागि पठनपाठन अनलाइनमार्फत् गरिएको छ । विशेष गरी अनलाइन कक्षाले पठनपाठनमा विद्यार्थीको स्तर उन्नति खासै भएको पाइएको छैन । किनकी विद्यार्थीहरुले प्रत्यक्षरुपमा शिक्षकको अगाडि पठनपाठन गर्दा त कतिपय विद्यार्थीहरुले एकै पटकमा बुझ्न सकेका हुँदैनन् भने अनलाइन कक्षाबाट कसरी बुझ्लान् ? गुणस्तरीय शिक्षा विद्यार्थीले कसरी लेलान्, अर्को पाटो रह्यो अनलाइन कक्षाको बहानामा विभिन्न शैक्षिक संस्थाहरुले व्यापारिक हिसावले अनलाइन कक्षा संचालन गरेको पनि पाइएको विभिन्न संचार माध्यमहरुको समाचारबाट प्रष्ट्याइसकेको छ । अनलाइन कक्षा संचालन गर्दा र विगतमा स्कुल संचालन गर्दाको शुल्क उस्तै हिसावले उठाउने गरेको पाइएको छ । अझ भन्नुपर्दा नेपालको भौगोलिक हिसावले धेरै दुर्गम क्षेत्रहरुमा इन्टरनेटको सुविधा सहज हुन नसकिरहेको अवस्थामा कसरी अनलाइन कक्षा संचालन सम्भव छ । 
० अनलाईन कक्षा संचालनदेखि लिएर परिक्षा पनि अनलाइनबाटै लिने प्रवृत्तिले विद्यार्थीको पठनपाठनमा प्रगति भएको छ त ?
कसरी हुन्छ प्रगति । झण्डै एक वर्षदेखि अनलाइन कक्षामा विद्यार्थीहरु सहभागि भएका छन् । ती विद्यार्थीहरुले होमवर्क त कुरै छाडौं अनलाइन कक्षामा समेत सहभागिता जनाइरहेको अवस्था छैन । विद्यार्थीहरुले मोवाइल पाएपछि अनलाइन कक्षा संचालनमा सहभागिता जनाएको देखाएर विद्यार्थी अन्यत्रै ध्यान दिइरहेका हुन्छन् । यस्तो कुरा शिक्षकहरुले कत्तिको ध्यान दिएका छन् ? अर्को कुरा अभिभावकहरु भ्याएसम्म आफ्नो छोराछोरीहरुले अनलाइन कक्षा लिएका छन् कि छैनन् भन्ने कुरामा ध्यान दिएका हुन्छन् भने कतिपय अभिभावकहरु आफ्नो रोजीरोटीका लागि दैनिक कार्यमा जानुपर्ने भएका कारण त्यस्ता अभिभावकहरुको बच्चाको लागि यस्तो अवस्थामा अनलाइन कक्षा उपयुक्त छ त ? यस्तो अवस्थामा शिक्षकले विद्यार्थीहरुको पूर्णरुपमा पठनपाठनको जिम्मेवारी लिनुपर्ने हुन्छ तर यस्तो पाइएको अवस्था भने छैन । शिक्षकले पढाएको विद्यार्थीहरुले कत्तिको बुझेका छन्, कति विद्यार्थीहरुले सहभागिता जनाइरहेका छन्, परिक्षा दिँदा कसरी दिइरहेका छन् भन्ने पूर्णरुपमा शिक्षकले ध्यान दिनुपर्ने हो । तर, विद्यार्थीहरुले पठनपठनदेखि लिएर परिक्षा दिँदासमेत अरु कसैको सहयोगमा आफू उपस्थिति नै नभई अरुलाई परिक्षा दिन लगाउने प्रवृत्ति पनि अनलाइन कक्षामा देखिएको छ । यसरी पठन पाठन गर्दा विद्यार्थीको भविष्य कस्तो होला ? सहजै अनुमान लगाउन सकिन्छ ।
० त्यसो भए एक वर्ष अगाडिदेखिको अनलाईन कक्षाको पठनपाठन खासै प्रभावकारी देखिएन त ?
खासै भावकारी देखिएको छैन । किनभने विद्यार्थीले ए, बी, सी, क, ख, ग नपढाई सिधै ‘ए फर एप्पल र क कमल’ पढाउँदा विद्यार्थीले कसरी बुझ्छन् । जगै नभएको घर कसरी बलियो हुन्छ । त्यसैले जग बलियो बनाउन बरु एक वर्ष ढिला भएपनि केही फरक पर्दैन, अब विस्तारै संचालनमा आउँदै गरेको शैक्षिक संस्थाहरुले वर्षभरि छुटेका सबै कोर्षलाई दोहो¥याएर पढाई त्यसपछि मात्र माथिल्लो कक्षाको पढाई सुरु गरेको खण्डमा विद्यार्थीहरुको पठनपाठनमा सहजभई पढाईमा सुधार आउछ । 
० अनलाईन कक्षाबाट साना—साना विद्यार्थीहरुलाई मोवाइलको लत लागेको पाइएको छ, यसबाट छुटकारा गराउन कस्तो उपायहरु अप्नाउनुपर्ला?
अनलाईन कक्षा संचालनको समय भरि मात्रै विद्यार्थीहरुलाई मोवाई, ल्यापटप दिने गर्नुपर्छ तर, यसबाट पनि विद्यार्थीहरुलाई मोवाइल र ल्यापटपको लत परेको छ । अभिभावक र शिक्षकले विद्यार्थीले अनलाईन कक्षा संचालन अवधिभर विद्यार्थीले मोवाईल र ल्यापटक सही सदुपयोग गरेका छन् कि छैनन् त्ययतातिर पनि ध्यान दिनुपर्ने जरुरी छ । किनभने विद्यार्थीहरुले अनलाईन कक्षाको बहाना बनाउदै विभिन्न गेमहरु खेलिरहेका छ छैनन् ?भन्ने तिर पनि ध्यान दिनुपर्ने जरुरी छ । विद्यार्थीहरु अभिभावकको आँखा छलेर एउटा कुनै कुनामा गएर अनावश्यक मोवाइल र ल्यापटपको दुरुपयोग त गरिरहेको छैन ? त्यतातिर पनि अभिभाकले चासो पुर्वक ध्यान दिनुपर्ने हुन्छ ।
० विद्यार्थीहरुलाई यो समयमा मोवाइल र ल्यापटपको लतबाट कसरी छुटाउन सकिन्छ ?
मोवाईल र ल्यापटपमा विद्यार्थीहरुलाई लत परेको छ भने त्यस्ता विद्यार्थीहरुलाई शिक्षकले बढी होमवर्क दिएर हुन्छ कि, अभिभावकले मोवाईल र ल्यापटप भन्दा पनि बाहिरी क्रियाकलापमा व्यस्त राख्नुपर्छ । जस्तै नाचगानमा भर्ना गरिदिने, विभिन्न खेलकुदमा सहभागिता गराईदिने, योगाहरु गराउने, विभिन्न रमणीय ठाउँहरुमा घुमाउने यस्तो गर्दा विद्यार्थीमा परेको मोवाईल र ल्यापटपको लत छुट्नुका साथै शारीरिक र मानसिक रुपमा पनि विद्यार्थी स्वस्थ रहन्छन् । 
० यस्तो अवस्थामा बच्चाहरु डिप्रेशनमा जाने कत्तिको सम्भावनाहरु रहन्छ ?
धेरै नै सम्भावनाहरु रहन्छन् । किनभने यो समय विद्यार्थीहरुका लागि धेरै नै फुर्सदको समय हो । फुर्सदको समयमा उनीहरुले राम्रा कुरालाई भन्दा पनि नराम्रो कुराहरुलाई विशेष प्राथमिकता दिएको पाइएको छ । फुर्सदका कारण विद्यार्थीहरुले अनावश्यक गतिविधिहरु गर्ने र मोवाइलका लतहरु प्नि लाग्ने सम्भावना प्रवल छ । यसको लक्षणहरु भनेको कोठामा एक्लै बस्ने, अल्छिपना हुने, धेरै सुत्ने, कि सुत्दै नसुत्ने, खाना राम्रोसँग नखाने, अरुसँग राम्रोसँग हिमचिम नगर्ने, बाहिर निस्कन नखोज्ने, झर्किने यस्तो समस्या देखिएमा कतै आफ्नो बच्चा डिप्रेशनको शिकार त भएका छैनन् भन्ने बुझ्नुपर्दछ । 
० यसको निवारण चाहिँ के होला ?
सकेसम्म अभिभावकले आफ्नो बच्चासँग धेरै समय विताउने, बच्चालाई एक्लै नछाड्ने, बच्चालाई केही न केही काम दिएर व्यस्त राख्ने, दिन भरी बच्चाले कस्ता गतिविधिहरु गरिरहेको छ बुझ्ने, केही समस्या छ किभनेर बच्चालाई सोध्ने, बच्चालाई के कुरामा चाहना छ बुझेर सोहीअनुसार बच्चालाई समय दिई अभिभावकले भुलाउने काम गर्नुप¥यो ।
० अब धमाधम शैक्षिक संस्था खुल्दै छन्, यस्तो अवस्थामा बालबालिकालाई स्कुल पठाउने उपयुक्त होला ?
यसको लागि महामारीको रुपमा फैलिएको कोरोना भाइरस पूर्ण रुपमा नियन्त्रणमा आएपछि मात्र शैक्षिक संस्थाहरु खोल्नुपर्ने हो । तर, कोरोना भाइरस पूर्णरुपमा नियन्त्रणमा नआइसकेको र विकसित रुपमा फेरि कडा कोरोना भाइरस आइरहेको अवस्थामा भने बालबालिकालाई स्कुल पठाउँदा धेरै नै जोखिम मोल्नुपर्ने अवस्था आउँछ । यसको जिम्मेवारी कसले लिने । बालबालिकाहरु बीच लामो समयसम्म भेटघाट नभएको अवस्थामा स्कुल जाँदा बालकालिकाहरु बीच भेटघाट हुँदा एक आपसमा सामाजिक दुरी कायमगर्ने अवस्था रहँदैन । यसबाट बच्चाहरुमा एक अर्कोबीच कोरोनाका भाइरसहरु सर्ने सम्भावना रहन्छ । यसले देशमै भयावहको अवस्था सिर्जना नहोला भन्न पनि सकिन्न । त्यसैले अहिले नै तत्काल शैक्षिक संस्थाहरु खोल्नु भनेको ठूलो जोखिम मोल्नु हो । यस्तो अवस्थामा आफ्ना बालबच्चाहरुलाई अभिभावकले स्कुल पठाउने भन्दा पनि स्वास्थ्य समस्या आउने सक्ने भएका कारण कोरोना भाइरस पूर्णरुपमा नियन्त्रणमा नआएसम्म स्कुल नपठाउँदा नै उपयुक्त होला । किनभने स्वास्थ्य ठूलो कुरा हो, स्वस्थ रहियो भने अर्को साल पनि स्कुल जान पाइहालिन्छ नि ?
० बालबच्चालाई कोरोना भाइरस संक्रमित हुनबाट जोगाउन कस्ता उपायहरु सिकाउनुपर्छ ?
अहिले बच्चाहरु घरबाट बाहिर निस्कने वातावरण बनिरहेको छ, साथीभाई भेट्ने गतिविधि बढेको छ । यस्तो अवस्थामा बालबच्चाहरुलाई कोरोना भाइरस नसर्ला भन्न सकिन्न । त्यसैले उनीहरुलाई सामाजिक दुरी कायम गर्ने, माक्स लगाएर बाहिर निस्कन, स्यानीटाइजर वा साबुन पानीले हातधुने, विरामीहरुको नजिक सकेसम्मनजाने जस्ता कुराहरु सिकाउने गर्नुपर्छ ।  
० विशेष गरी जाडो महिनामा बच्चाहरुलाई कसरी जोगाउने ?
जाडो मौशममा बच्चाहरुलाई प्रायः रुघाखोकी, ज्वरो, पेट दुख्ने, बान्ता हुने, झाडा पखाला लाग्ने जस्ता समस्याहरु देखिन्छ । यस्तो लक्षण देखिने वित्तिकै अभिभावकहरु कतै कोरोना भाइरसले त यस्तो भएको होइन भन्ने डराउने गर्छन् । तर, यो. मौशम चिसोका कारणले पनि बच्चाहरुमा यस्तो समस्या देखिने गर्छ । त्यसैले सामान्य ज्वरो, सामान्य रुघाखोकी लाग्दैमा आँत्तिहाल्नुपर्ने अवस्था छैन । यसको निवारणका लागि घरेलु उपचारबाट पनि ठिक पार्न सकिन्छ । यो समयमा सबै बच्चाहरुलाई मनतातो पानी पिलाउने, घाममा राखेर तेलले मालिस गरिदिने, कालो चियामा अदुवा, बेसार राखेर खुवाउने, कागती मह खाने, सकेसम्म हिटर बालेर नराख्ने, टोपी र मोजा लगाई दिइरहने, मौशमी फलफुल जस्तै यो मौशमा पाइने सुन्तला, बदाम प्रशस्त रुपमा खुवाउने आदि गर्नाले यस्तो समस्याबाट बच्चालाई जोगाउन सकिन्छ । धेरै ज्वरो आएमा, धेरै वान्ता भएमा बच्चालाई चिकित्सककोमा तुरुन्तै लैजाने । आफैले मनखुसी औषधी खुवाउने कार्य नगर्ने । चिकित्सकको सल्लाहअनुसार मात्र औषधी खुवाउने । 
 

सम्बन्धित समाचार