काठमाडौं । नेपाल तेक्वान्दो संघ बागमती प्रदेशद्वारा राष्ट्रिय खेलकुद परिषदमा मनोनित पदाधिकारीहरुलाई पुष १८ गते स्वागत तथा सम्मान कार्यक्रमको आयोजना गरिएको छ । 
सो कार्यक्रममा मनोनित हुने राखेपका सदस्यहरुमा नन्दा बस्याल, सुवास श्रेष्ठ, एकेन्द्र कुवरलाई ललितपुर एकान्तकुना युनिभर्सल क्यापेमा एक कार्यक्रमको आयोजना गरी सम्मान तथा स्वागत गरिएको थियो ।
सो सम्मान तथा स्वागत कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. भगवान कोइराला, विशिष्ठ अतिथिहरुमा सुमेरु ग्रुपका अध्यक्ष, नेपाल तेक्वान्दो संघका केन्द्रीय उपाध्यक्ष तथा समाजसेवी भरत महर्जन, प्रदेश सभा सदस्य तथा नेपाल तेक्वान्दो संघ बागमती प्रदेशका उपाध्यक्ष विराजभक्त श्रेष्ठ रहनुभएको थियो भने अतिथिहरुमा नेपाल तेक्वान्दो संघका केन्द्रीय पदाधिकारीहरु तथा नेपाल तेक्वान्दो संघ बागमती प्रदेशका पदाधिकारी तथा सदस्यहरु रहनुभएको थियो ।
सो कार्यक्रममा खेलकुद नियमावलीअनुसार संघको कुनै पनि पदमा बस्न नपाउने नियमअनुसार राजीनामा गर्नुहुने बागमती प्रदेशका पदाधिकारी तथा प्रशिक्षकहरुलाई विधाई गर्नुका साथै प्रदेशको खाली रहेको पदहरुमा नयाँ पदाधिकारी तथा सदस्यहरुलाई मनोनित गरिएको थियो ।
सो कार्यक्रममा आफ्नो मन्तव्य दिँदै प्रमुख अतिथि प्रा.डा. भगवान कोइरालाले खेलकुद क्षेत्रमा तेक्वान्दो खेलाडीहरुले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा नेपालको नाम विश्वसामु चिनाउन सफल रहेको बताउँदै यो खेललाई राज्यले छुट्टै बजेट व्यवस्था गरेको खण्डमा यसले अन्तर्राष्ट्रियस्तरमा यो भन्दा बढी नतिजा दिई विश्वसामु नेपालको झण्डा फहराउने थिए । 
सो कार्यक्रममा विशिष्ठ अतिथि सुमेरु ग्रुपका अध्यक्ष भरत महर्जनले नेपालमा तेक्वान्दा खेलले इतिहास रच्न सफल बनेको तथा हालै नेपालमा भएको साग गेममा तेक्वान्दोले उत्कृष्ठ खेल प्रदर्शन गर्दै सबैभन्दा बढी पदक ल्याउन सफल भएको हुँदा यो खेललाई बजेटको अभाव नहुने हो भने अन्तर्राष्ट्रिय पदकका लागि चिन्ता लिनुपर्ने अवस्था नआउने बताउनुभयो ।
सो कार्यक्रममा स्वागत मन्तव्य दिँदै प्रदेश सभा सदस्य विराज भक्त श्रेष्ठले विभिन्न समस्याका बाबजुद पनि नेपाल तेक्वान्दो संघ बागमती प्रदेशले उल्लेखनीय कार्य गर्दै आएको तथा खेलाडी र खेलका लागि भावी कार्यक्रमको तय गर्दै अगाडि बढिरहेको कुरा जानकारी गराउनुभयो ।
सो कार्यक्रममा सम्मानित व्यक्तित्व नन्दा बस्याल तथा सुवास श्रेष्ठले पनि आफ्नो विचार राख्नु भएको थियो । कार्यक्रमको सभापतित्व गर्नुहुने नेपाल तेक्वान्दो संघ बागमती प्रदेशका अध्यक्ष केशव पुरीले कार्यक्रम समापनको घोषणा गर्दै आप्mनो विचार राख्नु भएको थियो । पुरीले आफ्नो विचार राख्दै विभिन्न कठिनाईका बाबजुद पनि प्रदेशले आफ्नो काम कर्तव्य अगाडि बढिरहेको बताउँदै यो कोभिडको विषम परिस्थितिमा लामो समयदेखि कुनै पनि प्रतियोगिताहरु गर्न नसकिएको बताउँदै आगामी फागुनको अन्तिमबाट विभिन्न प्रतियोगिताहरुको आयोजना गरिने जानकारी गराउनु भएको थियो । मन्तव्यकै क्रममा तेक्वान्दो खेललाई राज्यले पनि प्राथमिकताका साथ हेर्नुपर्ने बताउनुभयो ।
सो सम्मान कार्यक्रममा नेपाल तेक्वान्दो संघ बागमती प्रदेशका महा—सचिव हरिहर ढुंगाना र सचिवहरु उमेश नकर्मी, अचुतम लामिछानेलगायतका पदाधिकारी, प्रशिक्षक तथा खेलाडीहरुको उपस्थिति रहेको थियो ।