वास्तवमा भन्ने हो भने साधारतया विरामीले आफूलाई अप्रेशन गर्ने डाक्टरलाई मात्र पहिचान गरिरहेको हुन्छ । अप्रेशन गर्नुभन्दा पहिला बेहोस पार्ने एनेस्थेसियोलोजिस्टको भूमिका बारे खासै विरामीले जानकारी लिने गर्दैनन् । वास्तवमा विरामीलाई बेहोस पार्नेदेखि लिएर बेहोस अवस्थाबाट होसमा नआउन्जेलसम्म निगरानी एनेस्थेसियाको डाक्टरले गरिरहेको हुन्छ । यो सम्बन्धी जानकारी विरामी र विरामीका आफन्तले थाहा पाइरहेको हु“दैनन् । विरामीले आफूले अप्रेशन गर्दा आफूलाई कस्तो किसिमको बेहोस पार्ने हो त्यो जानकारी लिनु जरुरी छ । त्यसैले अप्रेशन गर्नुभन्दा पहिला विरामी र एनेस्थेसियालोजिस्टस“ग छलफल गर्दा विरामीलाई अप्रेशन गर्दा खेरीको भय धेरै मात्रामा न्यूनिकरण गर्न सकिन्छ । यसै पेरिफेरीमा रहेर गोदावरी नगरपालिका वडा नं. १३ निवासी एनेस्थेसियालोजिस्ट डा. अनिलबाबु ओझास“ग खोजालास साप्ताहिकका लागि गरिएको संक्षिप्त कुराकानी ः
० के हो एनेस्थेसिया ?
एनेस्थेसिया भनेको आधुनिक चिकित्सा सास्त्रको एउटा हाँगा हो । यसमा विरामीहरुलाई अप्रेशन गर्दाखेरी बेहोस बनाउने काम गरिन्छ । साधारण तया बेहोस भन्दाखेरी मान्छेले के बुझ्छन् भने डाक्टरले बेहोस पारेर छाडेर जान्छन् भन्ने बुझ्छन् । तर, हामीले विरामीलाई बेहोस् पार्दादेखि विरामीको हरेक क्षणमा विरामीको मुटुको चाल, सासको गति, रक्तचाप आदि छिनछिनमा हेर्ने गर्छौं । विरामीलाई बेहोस बनाउनेदेखि लिएर होसमा नआउन्जेलसम्म हामीले निरन्तर निगरानीमा राख्नुपर्छ । वास्तवमा विरामीले आफूलाई अप्रेशन गर्ने डाक्टरलाई मात्र पहिचान गरिरहेको हुन्छ । अप्रेशनपछि पनि विरामीको अवस्थाको निगरानी एनेस्थेसियाको डाक्टरले गरिरहेको हुन्छ । यो विरामी र विरामीका आफन्तले थाहा पाइरहेको हुँदैन ।
० अप्रेशनको लागि तयार भएका विरामीले एनेस्थेसियाको डाक्टरलाई भेट्नु किन जरुरी छ ?
बिरामीको उमेर, अप्रेशनको प्रकृति र विरामीको अन्य रोगहरुको अवस्थालाई हेरेर एनेस्थेसियोलोजिस्टले कुन प्रकृतिको एनेस्थेसिया प्रयोग गर्ने भन्ने कुरा निक्र्योल गरी गर्ने गर्छन् । सामान्यतया एनेस्थेसिया तिन किसिमका हुन्छन् । एउटा लोकल एनेस्थेसिया, अर्को जेनरल एनेस्थेसिया र अर्को रिजनल एनेस्थेसिया हुन् । लोकल एनस्थेसिया भनेको शरीरको जुन ठाउँको अप्रेशन गर्ने हो त्यो ठाउँलाई मात्र बेहोस बनाइन्छ । रिजनल एनेस्थेसिया भनेको चाहिँ शरीरको कुन भागको अप्रेशन गर्ने हो त्यो भाग पूरै एनेस्थेसिया गरिन्छ । जेनरल एनेस्थेसिया भनेको चाहिँ शरीर पूरै भाग बेहोस बनाएर गरिने अप्रेशनको लागि प्रयोग गरिन्छ ।
० बिरामीलाई बेहोस गर्दा कस्ता समस्याहरु उत्पन्न हुने गर्छन् ?
कुनै पनि रोग नलागेका विरामीलाई र उमेर कम भएका विरामीहरुलाई चाहिँ खासै एनेस्थेसियाको कुनै पनि असर पर्दैन । तर, वृद्ध अवस्था र विभिन्न रोगले ग्रसित विरामीलाई चाहिँ रोगको प्रकृति हेरी कुन प्रकारको एनेस्थेसिया प्रयोग गर्ने हो त्यो हामीले डिसिजन गर्छौं । यसरी गर्दा आउने विपत्ती न्यूनिकरण हुने र कुन प्रकारको एनेस्थेसिया प्रयोग गर्ने भन्ने कुराको डिसिजन गरिन्छ ।
० एनेस्थेसिया प्रयोग गर्दा कस्ता सावधानी अप्नाउनु पर्ने हुन्छ ?
विरामी कुन प्रकृति हो, विरामीको उमेर कति छ, अप्रेशनको अवधि कति समयसम्म लाग्छ । त्यस्ता कुराको ख्याल गरेर कस्तो खाले एनेस्थेसिया प्रदान गर्ने भन्ने कुराको निर्णय गरेर एनेस्थेसिया प्रदान गरिन्छ ।
० विरामीले आफू अप्रेशनको तयारी गर्दा के के कुराको ध्यान दिनुपर्छ ?
कुनै पनि विरामीले अप्रेशन गर्दा एनेस्थेसियाको डाक्टरको २४ सै घन्टा उपस्थिति छ वा छैन, अप्रेशन गर्ने कक्षमा आधुनिक उपकरणहरु छन् कि छैनन्, एनेस्थेसियासम्बन्धी कुनै पनि कम्प्लीकेशन आउँदा त्यसलाई न्यूनिकरण गर्ने जनशक्ति र उपकरणहरु छन् कि छैनन्, अप्रेशन पश्चात् पोष्ट एनेस्थेसिया केयर युनिट (पीएसीयु) छ या छैन र अप्रेशन गरिसकेपछि तुरुन्तै २४ सै घन्टा आकस्मिक निगरानी गर्ने व्यवस्था छ कि छैन । अप्रेशनपश्चात आउने समस्याहरुको पहिचान गर्ने जनशक्ति छ कि छैन आदि कुराहरुको विरामीले ध्यान दिनुपर्छ । त्यसपछि मात्रै विरामीले अप्रेशनको लागि तयारी हुनुपर्छ । यस्तो अवस्थामा अप्रेशन गर्दा विरामीले खासै जोखिम मोल्नु पर्दैन ।
० जोखिमपूर्ण अनुभवहरु केही छन् कि ?
जोखिमपूर्ण अनुभवहरु धेरै नै भएका छन् । एनेस्थेसियाको जोखिमको धेरै अनुभवहरु बटुली सकेको छु । जस्तै दीर्घरोगी, स्वासप्रश्वास सम्बन्धी रोग भएका विरामीहरुको अप्रेशनको अवस्थामा हामीहरुले धेरै नै ध्यान दिनुपर्ने हुन्छ । अप्रेशनपश्चात पनि २४ घन्टाभित्र विरामीको नजिक रही निगरानी गरिरहनुपर्ने हुन्छ ।
० एनेस्थेसियाको प्रयोगले पछि विरामीलाई असर गर्छ कि गर्दैन ?
त्यस्तो अवस्था अहिलेसम्म मैले पाएको छैन । सायद एनेस्थेसियाले विरामीलाई पछि कुनै असर गर्छ जस्तो मलाई लाग्दैन ।
० के एनेस्थेसियाको भूमिका अप्रेशन थ्रेटरभित्र मात्रै हो त ?
होइन । पछिल्लो समयमा एनेस्थेसियोलोजिस्टको महत्वपूर्ण भूमिका छ । एनेस्थेसियोलोजिस्टको अहिले विश्वमा नै महामारीको रुप लिएको
कोरोना भाइरसको महामारीमा कोरोना भाइरसका विरामीहरुलाई सघन उपचार कक्षमा राखी उपचार गर्दा, पेन मेनेजमेन्ट, प्यालिएटिभ केयरमा पनि महत्वपूर्ण भूमिका हुन्छ ।
० सुमेरु अस्पतालमा एनेस्थेसियाको सम्पूर्ण उपकरणहरु उपलब्ध छन् ? विरामीले ढुक्क भएर अप्रेशन गर्ने वातावरण छ ?
सुमेरु अस्पतालमा कुनै पनि अप्रेशनका लागि चाहिने आधुनिक उपकरणहरु र जनशक्तिको उपलब्ध भएकाले विरामीहरुले ढुक्क भएर अप्रेशन गर्ने वातावरण छ । सुमेरुमा न्यूरो सर्जरी, जेनरल सर्जरी, युरो सर्जरी, हड्डी तथा स्पाइन सर्जरी, नाक कान घाँटीको अप्रेशन, महिला तथा प्रसुती, पेडियाट्रीक अप्रेशनहरु र पछिल्लो समयमा सफलतापूर्वक मृगौला प्रत्यारोपणसमेत गरिरहेका छौ्रं ।
० बेहोस बनाउदा कस्ता किसिमका औषधीहरु प्रयोग गरिन्छ ?
बेहोस बनाउँदा विरामीलाई दुखाईको अनुभव नगराउने र विरामीलाई अप्रेशन गर्दा हुने पीडाको अनुभव र स्मरण नगराउनको लागि औषधी प्रयोग गरिन्छ । एउटा मात्रै औषधीले यो सम्भव नहुने भएकोले तिन चार प्रकारका औषधीहरु प्रयोग गरेर एनेस्थेसिया प्रदान गरिन्छ ।
० नेपालमा कहिलेबाट एनेस्थेसिया सेवा उपलब्ध भयो ?
नेपालमा एनेस्थेसिया सेवाको इतिहास केलाउने हो भने यसको सुरुवात भएको ५९ वर्ष भइसकेको छ । शल्यक्रियापूर्व बेहोश गराउने एनेस्थेसियोलोजिस्टहरुको भूमिका महत्वपूर्ण हुन्छ । आजको दिनमा हाम्रो देशमा एनेस्थेसिया सेवाको यति धेरै विकास र विस्तार भइसक्दा पनि सो सेवा प्रदान गर्ने छुट्टै चिकित्सक हुन्छन् भन्नेबारे अझै पनि आम मानिसलाई कमै थाहा छ । शल्यक्रिया गर्ने धेरैजसो बिरामीले यसको बारेमा सोधखोज समेत गरेको पाइँदैन । तर, प्रत्येक शल्यक्रिया गराउने बिरामी वा उसको परिवारले शल्यक्रियापूर्व कम्तीमा एक पटक बेहोश गराउने एनेस्थेसियोलोजिस्टलाई भेट्नुपर्छ । एनेस्थेसियाको भूमिकाबारे आम जनमानस अनभिज्ञ नै रहेको यो अवस्थामा नेपालमा एनेस्थेसिया सेवाको इतिहासको चर्चा गर्नु अझ सान्दर्भिक हुन आउँछ । सन् १८४६ अक्टोबर १६ मा अमेरिकाको मेसेचुसेट्स जनरल अस्पतालमा विलियम थोमस ग्रिन मोर्टनले इथर ग्यासको प्रयोगबाट एक बिरामीलाई बेहोश बनाई घाँटीको ट्युमरको सफलतापूर्वक शल्यक्रिया गरेका थिए । नेपालमा सन् १८९० मा पृथ्वी वीर अस्पतालको स्थापनासँगै आधुनिक चिकित्सा विज्ञानको सुरुवात सुरु भएको पाइन्छ । आधुनिक एनेस्थेसिया सेवाको सुरुवात पनि वीर अस्पतालबाटै भएको थियो । डा. भवानीभक्त सिंह प्रधान एनेस्थेसियामामा विशेषज्ञता हासिल गरेका नेपालका पहिलो चिकित्सक हुन् । नेपालमा विशेषज्ञ शल्य चिकित्सक समेत नभएको त्यो समयमा उनले सन् १९५८ देखि एनेस्थेसिया सेवाको सुरुवात गरेका थिए । इतिहास खोतल्दै जाँदा सन् १९६६ मा डा. नरेन्द्रविक्रम रानाले बेलायतबाट एनेस्थेसिया विषयमा विशेषज्ञता हासिल गरी नेपालमा यो सेवाको विकास–विस्तारमा टेवा पु¥याएको देखिन्छ । सन् १९६८ सालमा वीर अस्पतालमा छुट्टै शल्यक्रिया भवन तथा शल्यक्रिया कक्षको निर्माण भई सञ्चालनमा आयो । सन् १९७० मा राजा महेन्द्रलाई हृदयघात भएपछि सघन उपचार कक्षको आवश्यकता महसुस गरी वीरबाटै नेपालमा सघन उपचार सेवा सुरु भएको थियो । ८० को दशकमा आइपुग्दा शल्य चिकित्सकहरुको संख्या ८० हुँदा विशेषज्ञ एनेस्थेसियोलोजिस्टहरुको संख्या जम्मा ६ जना थियो । त्यसैले एनेस्थेसियोलोजिस्टहरुको आवश्यकता महसुस गरी सन् १९८५ मा क्यानडाको क्याल्गेरी विश्वविद्यालयको सहयोग तथा स्वास्थ्य मन्त्रालयको सहकार्यमा शिक्षण अस्पताल महाराजगन्जमा एनेस्थेसिया विषयको एकवर्षे पठनपाठन सुरु भयो । सोही अस्पतालबाट सन् १९९६ देखि एनेस्थेसिया विषयको तीनवर्षे उच्च अध्ययन पनि सुरु भयो ।
हाल नेपालमा चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजगञ्ज (आईओएम), विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल (न्याम्स) लगायत अन्य कलेजबाट वार्षिक ३० जनाभन्दा बढी एनेस्थेसियोलोजिस्ट चिकित्सकहरु उत्पादन हुन थालेका छन् । नेपालमा एनेस्थेसिया सेवा हाम्रा अग्रजहरुको अथक मिहिनेत, नयाँ–नयाँ औषधि र प्रविधिको उपयोगले परिष्कृत हुँदै गयो । हाल नेपालमा जुनसुकै प्रकारका शल्यक्रियाहरुमा सहज र सुरक्षित रुपमा एनेस्थेसिया सेवा प्रदान हुँदै आएको छ । एनेस्थेसिया सेवा शल्यक्रिया कक्षको चौघेरामा मात्र सीमित छैन । आज एनेस्थेसियोलोजिस्टहरुले सघन उपचार कक्ष, वेदना निवारण, क्यान्सरका दीर्घ रोगीहरुको वेदना निवारण लगायत शल्यक्रिया कक्षभन्दा बाहिर पनि आफ्ना सेवा दिइरहेका छन् । एनेस्थेसिया सेवाको यति धेरै विकास र विस्तार भइसक्दा पनि सो सेवा प्रदान गर्ने छुट्टै चिकित्सक हुन्छन् भन्ने बारे अझै पनि आम मानिसहरुलाई कमै जानकारी छ ।
० नेपालमा हाल कति संख्यामा एनेस्थेसियालोजिस्टहरु छन् ?
हाल नेपालमा करिब पाँच सय जना एनेस्थेसियालोजिस्टहरु छन् । प्रत्येक वर्ष लगभग ३० जना एनेस्थेसियालोजिस्टहरुको उत्पादन भइरहेको छ । नेपालको जनसंख्याको हिसावले हेर्ने हो भने यो अत्यन्तै कम हो । भएको एनेस्थेसियालोजिस्टहरु पनि राजधानी केन्द्रीत र विदेशिएका छन् । जसले गर्दा दुरदरामा भएका विरामीहरुले राम्रो सेवा पाइरहेका छैनन् र विशेष गरी एनेस्थेसियालोजिस्टहरु सुविधासम्पन्न ठाउँमा मात्र कार्यरत छन् । त्यसले गर्दा दुरदराजमा भएका विरामीहरुले त्यस्तो सेवा पाउन सकेका छैनन् जसले गर्दा अकालमै मृत्युवरण गरिरहेका हुन्छन् । हरेक ठाउँमा राज्यले सबै किसिमका डाक्टरहरुलाई उपलब्ध गराउन सक्यो र आधुनिक उपकरणसहित अप्रेशन गर्ने सम्पूर्ण सुविधासम्पन्न अप्रेशन थेयटरहरु उपलब्ध गराउन सकेको खण्डमा दुरदराजका विरामीहरुले अकालमै मृत्युवरण गर्नुपर्ने थिएन ।
० अन्तिममा केही भन्न चाहनुहुन्छ ?
नेपालमा अहिलेसम्म विरामी र बेहोस पार्ने डाक्टरबीच चिनजान, सम्पर्क र ज्ञानको कमी छ । विरामीले आफूले अप्रेशन गर्दा आफूलाई कस्तो किसिमको बेहोस पार्ने हो त्यो जानकारी लिनु जरुरी छ । त्यसैले अप्रेशन गर्नुभन्दा पहिला विरामी र एनेस्थेसियालोजिस्टसँग छलफल गर्दा विरामीलाई अप्रेशन गर्दा खेरीको भय धेरै मात्रामा न्यूनिकरण गर्न सकिन्छ ।