ललितपुर । ललितपुरको ग्रामीण भेग गोदावरी, चापागाउँ सडकखण्ड समयमै निर्माण कार्य नभएका कारण लामो समयसम्म स्थानीयवासी धुलो, धुँवा र हिलोको मारमा परेका छन् ।
असार महिना वर्षा हुने महिना भएका कारण दिनदिनैको वर्षाका कारण ललितपुरको गोदावरी सडकखण्डस्थित हरिसिद्धिका स्थानीयहरुले सडक कालोपत्रे गर्नुपर्ने मागसहित आन्दोलनमा उत्रिएका छन् ।
हरिसिद्धिस्थित ‘गुमज महिला समूह’को आह्वानमा हरिसिद्धिका विभिन्न महिला समूह, स्थानीयवासीले आज सोमबार गुमज चोकमा बाटो अवरुद्ध गरी नाराबाजी गरेका छन् । उनीहरूले ‘कोरोनाले भन्दा धूलो, धुँवा खाएर मरिने भइयो’, ‘यो हाम्रो रहर होइन बाध्यता हो’, ‘चाँडो सडक पिच गर’ लगायत नारा लगाएका थिए । साथै आन्दोलित महिलाहरूले विभिन्न नारा अंकित प्लेकार्ड प्रदर्शनसमेत गरेका थिए ।
गुमज चोकबाट साइकलको आउजाउमा पनि रोक लगाइएको छ । यद्यपि एम्बुलेन्स आवागमनमा भने रोक नलगाइएको नेवाः मिसा पुच महिला समूहकी अध्यक्ष नीरा महर्जनले जानकारी गराएकी छिन् ।
ग्राभेल हालेर पिच गर्नुपर्ने सडकमा माटो हालेर जनतालाई सास्ती दिइयो, उनले भनिन् ‘पानी पर्दा सडक हिलाम्मे हुन्छ, घाम लाग्दा धूलो उडेर बस्नै नसक्ने भएपछि हामी बाटो बन्द गर्न बाध्य भएका हौं ।’
सडक पिच नहुने बेलासम्म आन्दोलन जारी राख्ने आन्दोलित महिलाहरूको भनाइ छ । उसो त सरकारले बाटो बढाउन मुआब्जा कम दिएको भन्दै हरिसिद्धिका बासिन्दाले भने सडक विस्तारमा रोक लगाएका छन् । तर, भएको सडक पिच नगरेर सरकारले बेवास्ता गरेको स्थानीयको आरोप छ । उनीहरूले भनेअनुसारकै मुआब्जा सरकारले दिनुपर्ने बताउँदै आएका छन् ।
यस्तै सास्ती चापागाउँ सडकखण्डको सुनाकोठीदेखि लिएर ठेचो दुरसञ्चारसम्मका स्थानीयवासीले लामो समयदेखि भोग्दै आइरहेका छन् । घाम लागेको समयमा सडकमा धुलो र धुँवाका कारण बस्नै नसकिने अवस्था बन्नुका साथै पानी परेको समयमा हिलाम्मे सडकका कारण स्थानीयवासी समस्यामा परेका छन् । तर, सो क्षेत्र अर्थात् सुनाकोठीकै दुईवटा प्रदेश सांसद राजकाजी महर्जन र दिपेस महर्जन भए पनि सडक धुलो, धुवाँ र हिलोमय भएको दिनदिनै देखेपनि उनीहरुले सम्बन्धित निकायलाई खासै पहल नगरेको भान सुनाकोठीदेखि ठेचो दुरसंचारसम्मको बाटोको हविगत हेर्दा प्रष्टरुपमा देख्न सकिन्छ ।
स्मरणणीय छ, करिब ६ महिना अगाडि यस्तै धुलो, धुवाँ र हिलोका कारण स्थानीयवासीलाई दैनिक जिवन यापनमा समेत समस्या परेपछि चापागाउँ, ठेचोका स्थानीयले लामो समयसम्म सडक अवरुद्ध गरी बाटो नै बन्द गर्ने कार्य गरेपछि स्थानीय तह, प्रदेश र संघका जनप्रतिनिधिहरुले वाध्य भएर सरकारको ढोका ढक्ढक्याका कारण सडक चाँडै नै कालेपत्रे भएको थियो ।