जापानी सहयोगमा श्रीकृष्ण माविको भवन बन्दै

16.9k Shares

ललितपुर । पुनर्निर्माण प्राधिकरण ललितपुरको समन्वयमा जापानी सहयोगी संस्था (जाइका) ले ललितपुर महानरपालिका वडा नं २३ धापाखेलस्थित श्रीकृष्ण माविको भवन निर्माण गर्ने भएको छ ।

विद्यालयका प्रधानाध्यापक हरिभद्र वाग्लेका अनुसार ६–६ कोठाका तीन तले २ वटा विद्यालय भवन बन्नेछन् । शौचालय, फर्निचरसहितको भवन करिब ५ करोड हाराहारीको बजेटमा बन्ने बुझिएको छ ।

विद्यालय भवन निर्माणका लागि परामर्शदातासँग सम्झौता भइसके पनि कोभिड–१९ का कारण सिर्जित असहज परिस्थितिका कारण औपचारिक सम्झौता भइसकेको छैन । ‘विद्यालय भवनको डीपीआर तयार भइसकेको छ’, प्रधानाध्यापक वाग्लेले खोजतलाससँग भने, ‘अवस्था अलि खुकुलो भएकाले छिट्टै सम्झौता भइ विद्यालय पुननिर्माण कार्य सुरु हुने हाम्रो अपेक्षा छ ।’

बालकक्षा देखि कक्षा १२ सम्म अध्ययन भइरहेको उक्त विद्यालयमा ५ सय भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । स्थानीय बुद्धिजीवी तथा समाजसेवीको पहलमा विसं २०११ सालमा स्थापना भएको विद्यालय २०४० सालदेखि एसएलसी परीक्षमा सामेल भएको थियो । विद्यालयले २०६३ सालमा व्यवस्थापन विषयमा प्लस टुको सम्बन्धन लिएको हो । विद्यालयमा हाल बालकोटा ९इसीडी० मा २ दरबन्दी, प्राथमिक तहमा ८ दरबन्दी (एउटा रोकिएको), निमावि ४ (एक राहतसहित), माविमा ५ तथा  कक्षा ११–१२  २ (राहत अनुदान) र १ जना पार्ट टाइम, प्रशासन, कार्यालय सहयोगी, निजीतर्फ एक–एक गरी २३ शिक्षक–कर्मचारी कार्यरत छन् ।

२३ कोठे भूकम्प प्रतिरोधी भवनमा सञ्चालन भइरहेको विद्यालयमा कम्प्युटर ल्याब तथा पुस्तकालयको प्रबन्ध छ । विद्यालय ६ रोपनी ४ आना जग्गामा फैलिएको छ ।  कोभिड–१९ का कारण विद्यालयले अहिले कक्षा १० र कक्षा १२ मा अनलाइन कक्षा सञ्चालन गरिरहेको छ । अन्य कक्षा सञ्चालनका लागि अभिभावकसँग सम्पर्क गरिरहेको जानकारी दिँदै प्रधानाध्यपक वाग्लेले अनलाइन कक्षाका लागि अहिले शिक्षकलाई कम्प्युर सिकाइ तालिम दिइरहेको जानकारी दिए ।

कोभिड–१९ का कारण सिकाईलाई परिवर्तन गर्नुपर्ने भएकाले विद्यालयले प्रोजेक्टरबाट पढाउन तयार गरिरहेको छ ।

‘प्रविधि मैत्री बनाउनु पर्छ भन्ने दृष्टिकोण राखेर सबै शिक्षक कम्प्युटर शिक्षा लिइरहनु भएको छ । दक्ष शिक्षकबाट सहजीकरण भइरहेको छ’ वाग्लेले भने,  ‘बदलिएको परिस्थितिका कारण सबै कक्षा प्रोजेक्टरबाट पढाउने योजना बनाएका छौं ।’

विद्यालय व्यवस्थापन समितिको नेतृत्वमा समाजसेवी एवं सुमेरु ग्रुपका अध्यक्ष भरत महर्जन आएपछि विद्यालयको भौतिक सुधारमा उल्लेख्य प्रगति भएको वाग्लेले जानकारी दिए ।

‘विद्यालयको शैक्षिक उन्नयनका निमित्त विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महर्जनले प्रोत्साहन गरिरहनु  भएको छ’, प्रधानाध्यापक वाग्लेले भने, ‘अध्यक्षज्यूले अध्यक्षता सम्हालेदेखि आफ्नै लगानीमा विद्यालयको क्यालेन्डर छपाई कार्य भइरहेको छ ।’

महानगरपालिका वडा नं २३ का वडाध्यक्ष भुयूकाजी मर्हजन ३४ वर्ष यही विद्यालयमा अध्यपयन गराउनु भएकाले पनि वडाबाट विद्यालयलाई सहयोग भइरहेको र आगामी दिनमा पनि उल्लेख्य सहयोग प्राप्त हुने अपेक्षा आफूहरूले राखेको प्रधानाध्यापक वाग्लेले बताए ।

सम्बन्धित समाचार