काठमाडौ । उपत्यका ट्राफिक प्रहरी कार्यालय परिसरमा रहेको ग्लोबल आइएमई बैंकको काउण्टर बन्द भएको छ । एकाएक यसरी बन्द हुनुको पछाडि बैंकको आन्तरिक कारण नभएर ट्राफिक प्रहरी कार्यालय भित्रको एउटा घुष प्रकरण हो भन्ने कुरा ढिलै भए पनि अहिले उजागर हुन पुगेको छ । ट्राफिक नियम उल्लघंन गर्ने , मापसे गरेर सवारीसाधन चलाउने या दुर्घटना गराएर क्षतिपूर्ति तिर्नुपर्ने जस्ता राजश्व तिर्नुपर्ने कार्यका लागि सेवाग्राहीलाई सहज र सजिलो होस भनेर धेरै पहिले ट्राफिक प्रहरी कार्यालय परिसरमा ग्लोबल आइएमई बैंकको काउण्टर स्थापना गरिएको थियो । लामो समयदेखि रहेको काउण्टर गएको दशै पछि एकाएक बन्द भयो ।काउण्टर बन्द भए पछि सेवाग्राहीलाई असजिलो त हुने नै भयो तर किन बन्द भयो भन्ने कुरा उपत्यका ट्राफिक प्रहरी कार्यालयका धेरै प्रहरीलाई मात्रै होइन सिनियर प्रहरीलाई पनि थाहा रहेनछ ।
ट्राफिक प्रहरीको कारवाहीबाट दैनिक लाखौंलाख रकम काउण्टरमा जम्मा हुने र काउण्टरको प्रत्यक्ष सम्बन्ध ट्राफिक प्रहरीको कम्प्युटर शाखा सम्म हुने भएको कारण त्याहां कमिशनको खेल भएछ। ट्राफिकको कम्प्युटर शाखाका प्रमुख रहेका प्राविधिक निरीक्षक दिपेन्द्र साहले मागेको कमिशन र बैंकले उनको खातामा जम्मा गरिदिएको रकमको कारण उक्त काउण्टर बन्द भएको रहेछ ।तत्कालीन ट्राफिक प्रहरी प्रमुख डिआइजी मिरा चौधरीले बैंकसंग निरीक्षक साहले कति रकम साहले मागेको थाहा नपाए पनि उनको खातामा डेढ लाख रूपैयाँ जम्मा भएको पुष्टि भए पछि चौधरीले ती निरीक्षकलाई स्पष्टीकरण सोध्ने र कारवाही गर्ने काम त गरिनन बरू बैंकको काउण्टर नै बन्द गरिदिइन ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयले मातहतका वृत्त जहाँ सवारीसाधनको रूपमा गाडी रहेको छ , ती वृत्तलाई सय लिटर तेल दिदै आएको थियो । तर मिरा चौधरीले सय लिटरबाट घटाएर पचास लिटरमा झारेपछि अहिले वृत्तमा प्रमुख र अफिस क्लर्कहरू तेल माग्न रेष्टुरेन्ट , होटल , मार्वल , टायल हाउस देखि यातायात व्यवसायीका समितिका कार्यालय धाउंदै गरेको देख्न पाइन्छ ।
निरीक्षक साह सई दर्जामा मात्रै उपत्यका ट्राफिक प्रहरी कार्यालयमा झण्डै १० बर्ष बसेका हुन । उनी धेरै बदनाम र बिवादित प्रहरी भए पनि निरीक्षक भए पछि फेरि आउन सफल भएका हुन । उनी अहिले निरीक्षक भए पछि आएको पनि दुई बर्ष बितिसकेको छ । उनी मुख्यालयको कम्प्युटर महाशाखामा पनि टेण्डरमा आउने गरेको कुरा महाशाखाका अधिकारीहरू नै बताउँछन् ।