काठमाडौं, २४ जेठ । ‘आदिपुरुष’ को फाइनल ट्रेलर सार्वजनिक भएको छ । जहाँ पहिलो ट्रेलर भगवान रामको नरम पक्षमा केन्द्रित छ । प्रभास स्टारर फिल्म ‘आदिपुरुष’का निर्माताले रिलिजअघि नै एक घोषणा गरेका छन् । रामकथा हुने ठाउँमा हनुमानको उपस्थिति हुने भएकाले हरेक भारतीय हलमा हनुमानका लागि एउटा सिट खाली राखिने निर्माण पक्षले जनाएको छ ।
ओम राउतले निर्देशन गरेको यो फिल्म असार १ गते रिलिज हुँदैछ । फिल्मको टिमले मंगलबार विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो । विज्ञप्तिमा भनिएको छ, ‘जहाँ रामायण पाठ गरिन्छ, त्यहाँ भगवान हनुमानको उपस्थिति हुन्छ । यही विश्वासका साथ हरेक थिएटरमा ‘आदिपुरुष’ प्रदर्शनमा भगवान हनुमानका लागि एउटा सिट खाली राखिनेछ ।’
निर्माताको यो निर्णयको सामाजिक सञ्जालमा प्रशंसा भइरहेको छ । योसँगै धेरैले यसलाई फिल्मको प्रमोसनको रुपमा हेरिरहेका छन् ।
आगामी साता अमेरिकाको न्युयोर्कमा हुने ट्रिबेका फिल्म फेस्टिभलमा यसको वल्र्ड प्रिमियर हुँदैछ । फेस्टिभलमा मिडनाइट अफरका रूपमा प्रस्तुत गरिने यो थ्रीडी फिल्म १६ जुनबाट सिनेमा हलमा प्रदर्शन हुनेछ ।