काठमाडौं । यस अघि सरकारले खुला गरेको जग्गाको कित्ताकाटको निर्णयलाई सर्वोच्च अदालतले रोक लगाइदिएको छ ।
यस अघि मन्त्रीस्तरीय निर्णयबाट जग्गा कित्ताकाट फुकुवा गरेपछि अधिवक्ता सन्तोष भण्डारी, सुजन नेपाल र नवराज पाण्डेले भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रासलयलाई विपक्षी बनाई सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त रिटमाथि सर्वोच्चले मंगलबार अन्तिम निर्णय दिएको छ ।
यसअघि कित्ताकाट रोक्का गरेको अवधिमा समेत कानूनी छिद्रहरु प्रयोग गर्दै भूमाफियाले कित्ताकाट व्यापकरूपमा गरेका थिए । जग्गा दलाल, नापी, मालपोत र अदालतका कर्मचारीको मिलेमतोमा कृत्रिम अंशियार खडा गरेर अदालतको बाटो प्रयोग गर्दै नक्कली अंशबन्डा समेत गरेर कित्ताकाट व्यापकरूपमा हुँदै आएको छ ।
यसरी रोक लगाउँदा समेत चोर बाटोबाट कित्ताकाट गर्ने क्रम झनै मौलाएपछि व्यवसायिकरूपमा घरजग्गा विकास गर्दै आएका र भैपरि आउने समस्या टार्न जग्गा बिक्री गर्न अत्यावश्यक हुने आम मानिस मारमा परेको भन्दै कित्ताकाट खुकुलो पार्न माग हुँदै आएको थियो ।
मंगलबार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र न्यायाधीश मनोजकुमार शर्माको इजलासले जग्गा कित्ताकाट फुकुवाको निर्णयलाई बदर गरिदिएको हो ।