काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाणसहित उनका स्वकीय सचिव नरेन्द्र केसी पक्राउ परेका छन् ।
खाणलाई बुधबार बिहान घटनाको अनुसन्धान गरिरहेको महानगरीय प्रहरीको विशेष टोलीले उनकै निवासबाट पक्राउ गरेको हो । अनुसन्धान टोलीले खाण र उनका सहयोगी स्वकीय सचिव केसीलाई पक्राउ गरेको हो । केसी गृहमन्त्रीका सहयोगीका रुपमा सक्रिय रहेका थिए ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा समातिएका अभियुक्तहरूले खाणपत्नी मञ्जुलाई ६ करोड रुपैयाँ बुझाएको अडियो बाहिरिएको थियो । यद्यपी त्यो अडियोको जाँच चलिरहेको छ । पुष्टि भएको छैन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबारमात्रै थप दुई जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा काठमाडौं टोखाका रामशरण केसी र मोरङका गोविन्द चौधरी रहेका छन् । यसअघि पक्राउ परेकाहरूले दिएको बयानका आधारमा अनुसन्धान गर्दा उनीहरू पनि यस प्रकरणमा संलग्न रहेको खुलेपछि पक्राउ गरिएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले जानकारी दिए । यससँगै यो प्रकरणमा पक्राउ पर्नेको संख्या १२ पुगेको छ ।
प्रहरीले यसअघि पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ का सुरक्षा सल्लाहकार इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंककुमार गुरुङ र नेकपा (एमाले० का सचिव एवं सांसद टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई पक्राउ गरिसकेको छ ।
टोपबहादुर भने फरार छन् । मंगलबार जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले सातदोबाटोस्थित उनको घरमा खानतलासी गरेको थियो । हिरासतमा रहेका अभियुक्तहरूको बयानको आधारमा एकपछि अर्को गरी उच्चपदस्थहरू तानिनेक्रम जारी छ ।