पर्वतको कुश्मामा दोस्रो अग्लो बन्जी सञ्चालन हुने

17.4k Shares
बाग्लुङ । पर्वत सदरमुकाम कुश्मा र बाग्लुङको बलेवा जोड्ने पुलमा बन्जी, स्वीङ र स्काइ साइक्लिङ लगायत साहसिक खेल सञ्चालन हुने भएको हो ।
द क्लिफ प्रालिले कालीगण्डकीको खोंचमा यही कात्तिक १५ गतेबाट औपचारिक रुपमा बन्जी, स्विङ र स्काइ साइक्लिङ खेल सञ्चालन गर्ने भएको छ । 
२०७३ सालदेखि पुलको निर्माण सुरु गरिएको थियो । यसअघि पुलसँगै रिसोर्टको निर्माण ०७६ अन्तिममा सकिए पनि लकडाउनले गर्दा सञ्चालनमा आउन नसकेको कम्पनीका अध्यक्ष राजु कार्कीले जानकारी दिए ।
५२५ मिटर लामो झोलुंगे पुलको बीचमा कालीगण्डकी नदीको ठीक माथि बन्जी र स्विङ ९पिङ० का लागि जम्प गर्ने प्लाटफर्मको निर्माण गरिएको छ । खोलादेखि पुलको उचाइ २२८ मिटर अर्थात ७४८ फिट  छ ।
हाल विश्वकै अग्लो बन्जी मकाउमा ७६४ फिट उचाइ र दोश्रो अग्लो स्वीट्जरल्यान्डको भरजस्का बाँधमाथि ७२० फिट उचाईमा छ ।
द क्लिफ प्रालिको यो परियोजना पछि स्वीटरल्यान्डलाई पछि पार्दै यसले विश्वकै दोस्रो अग्लो बन्जिका रुपमा दर्ज गर्ने दाबी अध्यक्ष कार्कीको छ ।
बन्जी र स्विङ दुवैका लागि हाल ७ हजार रुपैयाँ तोकिएको छ । टेन्डम ९जोडी० बन्जीको १२ हजार लाग्ने छ ।
बन्जीकालागि निर्माण भएको पुलको उचाइ २२८ मिटर  छ भने सोभन्दा माथि बाइएको पिङको उचाइ नदीबाट २४८ मिटर  छ ।
जमीनबाट १२ मिटर अग्लो बनाइएको पिङ नेपालमा अहिलेसम्म बनाइएका पिङभन्दा फरक रहेको कम्पनीको दाबी छ ।
यो गुलेलीको शैलीमा निर्माण गरिएको छ । सामान्यतया पिङमा अरुले हल्लाइदिनु पर्ने हुन्छ तर यसमा खेल्ने मान्छे पिङमा बसेपछि पछाडि बाट मेसिनले तानेर हुत्त छोडिन्छ अनि पिङ मचिन्छ ।
चट्टान आरोहण लगायत साहसिक खेलमा प्रयोग हुने उच्च गुणस्तरको डोरीको प्रयोग गरिएको र दक्ष प्राविधिकबाट डिजाइन गरी निर्माण गरिएको पिङ नेपालकै नमुना पिङ बनेको कार्कीको दाबी छ । पिङ खेल्न प्रतिव्यक्ति २५० रुपैयाँ लाग्ने कार्कीले बताए ।
स्टिल कोर केबल प्रयोग गरी स्काइ साइक्लिङ तयार गरिएको छ । सन्चालित कालीगण्डकी खोंचमा सन्चालित स्काइ साइक्लिङ २२८ मिटर अग्लो छ भने लम्बाइ ३ सय मिटर छ । दुइतर्फी ३ सय मिटर लम्बाइ रहेको रुटमा १ पटकमा २ जनाले साइक्लिङ गर्न मिल्ने कार्कीले बताए ।
बाग्लुङको बलेवामा २५ रोपनी क्षेत्रफलमा द क्लिफ रिसोर्टबनेको छ । २१ वटा सफारी टेन्ट रहेको रिसोर्टमा ७० जना अट्ने छ्न् ।
सम्पूर्ण परियोजना सक्न २० करोड खर्च हुने योजना भए पनि लकडाउनले गर्दा समयमा उदघाटन गर्न नपाएर लागत बढेर २८ करोड पुगेको कम्पनीका अध्यक्ष राजु कार्की बताउँछन् ।
अध्यक्ष कार्की सँगै युवराज जोशी, नेत्रप्रसाद पराजुली, फ्लोरेन्स कार्की, राजन जोशी र नवराज शर्मा लगायतको लगानी परियोजनामा छ ।
बन्जी र स्विङकालागि बनाइएको पुलको मात्र लगानी ८ करोड छ। १२० रुपैयाँ तिरेर उक्त पुल वारपार गर्न सकिन्छ ।
द क्लिफ प्रालि पोखरा बाट ५५ किमि, अन्नपूर्ण बेसक्याम्पको गेटवे नयाँपुलबाट १५ किमी दुरिमा अवस्थित छ। बन्जीजम्प गर्दा हिमालको दृश्य देखिने संसारकै एक मात्र स्थल बन्न सक्छ ।
काठमाडौं, चितवन, पोखराबाट पर्वत कुश्मासम्म सजिलै सार्वजनिक बस पाइन्छ । पोखराको बाग्लुङ बसपार्कमा गएर कुश्मासम्म पुग्ने सेयरिङ ट्याक्सीमा पनि जान सकिन्छ ।
द क्लिफमै गाडी सहितको प्याकेज बुक गरेर पोखराकुश्मा दुइतर्फी गाडीको सुविधा लिन सकिन्छ ।
सम्बन्धित समाचार