न्यायको पर्खाइमा प्रसूति महिला, श्रीमान फरार भएपछि शिशु र आमाको बिचल्ली

20.5k Shares

सिरहा, १७ चैत । प्रेमको मायाजालमा फसेकी एक प्रसूति  महिला  अहिले न्यायको खोजीमा भाँैतारिरहेकी छिन् । सिरहाका सुलैना दासलाई  प्रेमको मायाजालमा फसाएर गर्भवती बनाइ श्रीमानले छोडेर हिँडेपछि  दुई वर्षीय बालक र १९ दिने दुधे बालिकासहित अहिले न्यायको पर्खाइमा बसिरहेकी छिन् ।

सिरहाको सुखीपुर नगरपालिका–३ सलमपुरका कुलदिप दाससँग प्रेम विवाह गरेकी सुलेना दास श्रीमान फरार भएपछि दुधे बालिकासहित उनी बिचल्लीमा परेकी हुन्।

दुई वर्षअघि कुलदिपसँग प्रेम विवाह गरेको सुलेनाले बताइन् । सुखीपुरमा टेन्टको बाजा बजाउने काम गर्दै आएका कुलदिपसँग नजिकिएकी उनले आफू दोस्रोपटक  गर्भवती भएको बताएपछि श्रीमानले गोलबजारमा डेरा खोजेर राखिदिएको सुनाइन् । 

कुलदिपसंग बिहे गरेलगतै छोरा जन्माएका उनी १९ दिन पहिले फेरि अर्को सन्तानको रुपमा छोरीलाई जन्म दिएकी छिन् । उनले भनिन्, ‘पहिलो सन्तान दुई वर्षको छ, अहिले फेरि छोरी पाएको छु ।’ 

तीन महिनाको गर्भ भएपछि घरबाहिर गोलबजारमा राखेर फरार भएका श्रीमानको खोजी गरी न्याय दिलाइदिन जिल्ला प्रहरीसँग गुहार मागे पनि न्याय पाउन नसकेको उनले गुनासो गरिन्  । ‘अब सुत्केरी अवस्थामा दुधे बालक लिएर कहाँ जानु, कसलाई गुहार्नु ?,’ उनले दुखेसो पोख्दै भनिन्, ‘प्रहरीकोमा जाँदा उल्टै गाली गरेर फर्काउँछन्, कोसँग कहाँ गएर न्याय माग्नु ?’ 

केही दिनअगाडि  प्रहरीले पैसा खाएर गुपचुपै कुलदिपलाई विदेश पठाइदिएको सुनेको उनले बताइन् । ‘अब त न्याय पाउने आश पनि मरेर गयो । म जस्तो असहायलाई कसले सहायता गर्छ ?,’ उनले भनिन्, ‘डेरामै रहँदा कहिलेकाहीं आउने श्रीमानले एकाध हजार दिएर जान्थे, त्यही बेला गर्भवती भएछु । दुई छाक खान समेत गाह्रो परिरहेको छ ।’ 

हालसम्म उनलाइ मुक्ति नेपालले सहयोग गरिरहेको बताइन् । कुलदिपले ल्याए पनि उनको घरपरिवारले नस्वीकारेकाले घर जान नसकिएको र आफ्नै खुसीले विवाह गरेकाले माइत जाने अवस्था पनि नरहेको सुनैनाले सुनाए । उनले भनिन्, ‘घर जाउँ सासु ससुराले तँलाई चिन्दैनौँ, हामी घरमा भन्दै पस्नै दिँदैनौँ भन्नुहुन्छ ।  आफ्नै मर्जीले विवाह गरेकाले माइत जान पनि सक्दिनँ ।’

गर्भवत्ति अवस्थामा सुनैना कसको सहारामा सुत्केरी हुने चिन्तामा थिइन् । काखे बालक र अर्को जन्मने अवस्थाको गर्भले उनी ब्याकुल रहेको अवस्थामा हामीले समाजिक उतरदायित्व पूरा गरेको मुक्ति नेपाल संस्थाका कार्यकारी निर्देशक श्यामकुमारी साहले बताइन् ।

महिला अधिकारका लागि क्रियायाशील स्थानीय मुक्ति नेपालले गर्भवती दासलाई मनोविमर्श सेवा, स्वास्थ्य उपचारमा सहयोगसहित जिल्ला प्रहरीमा निवेदन दिन सघाएको संस्थाका निर्देशक साहले जनाइन् । विवाह गरेको दुई वर्ष बितिसकेपनि उनको नागरिकता बनेको छैन । माइतीबाट जन्म प्रमाणित ल्याएको कागज पनि श्रीमानले लिएर हिँडेको सुनैनाले बताइन् । उनले भनिन्, ‘अरु केही नभएपनि तत्काल नागरिकता, विवाह दर्ता र छोराको जन्मदर्ता बनाई दिए हुनेथियो ।’

सम्बन्धित समाचार