पीसीआर परीक्षणको शुल्क अब एक हजारभन्दा बढी लिन नपाउने

16.4k Shares

काठमाडौं । कोराेना भाइरसको लागि पीसीआर परीक्षण शुल्क एक हजार रुपैयाँभन्दा बढी लिन नपाउने भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक हजार रुपैयाँभन्दा बढी शुल्क लिन नपाउने जनाएको हो ।
असोज १५ गते मन्त्रीस्तरीय निर्णयबाट यसअघि दुई हजारभन्दा बढाउन नपाउने शुल्क घटाएर एक हजार रुपैयाँमा झारिएको हो । उक्त शुल्क समायनुकूल परिमार्जन हुँदै जाने मन्त्रालयले जनाएकाे छ ।
यसअघि सुरुमा पाँच हजार ५०० रुपैयाँ शुल्क तोकिएको थियो। त्यसपछि घटाएर चार हजार ४०० रुपैयाँभन्दा बढी लिन नपाउनेगरी शुल्क तोकिएको थियो । त्यसपछि भने शुल्क घटाएर दुई हजार रुपैयाँभन्दा बढी लिन नपाउने जनाइएको थियो । अहिले दुई हजारबाट पनि आधा घटाएर शुल्क तोकिएको हो ।
अन्तर्राष्ट्रिय बजारमा रिएजेन्ट तथा अन्य स्वास्थ्य सामग्रीको मूल्य कम भएकाले शुल्क घटाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कोभिड-१९ परीक्षणका लागि एफडीए किट ईयूए मान्यता प्राप्त किटहरू र स्वास्थ्य सेवा विभागबाट स्वीकृति भएका किटहरूमा प्रयोग गर्न पाइने मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको अनुमति पाएका प्रयोगशालाले मात्र एन्टीजेनबेस टेष्ट गर्न पाउनेछन् ।
 
बायोसेफ्टी प्रोटोकल नमूना संकलन परीक्षण विधि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले तोकेअनुसार मात्र हुने उनको भनाइ छ । रिएजेन्ट नतिजा पोजिटिभ आएको रिपोर्ट काठमाडौंको हकमा इपिडियोमियोलोजी तथा रोग नियन्त्रण महाशाखा सम्बन्धित स्वास्थ्य कार्यालय र सम्बन्धित व्यक्तिलाई दिनुपर्ने प्रवक्ता डा . गौतमले बताए । नेगेटिभ रिपोर्ट आएको खण्डमा भने सम्बन्धित व्यक्तिलाई मात्र जानकारी गराउनु पर्नेछ ।

सम्बन्धित समाचार