स्मृति दिवस विशेष
बिष्णु घिमिरे
काठमाडौं । इतिहास केवल बितेका घटनाहरूको अभिलेख होइन, समाजलाई सही दिशा दिने विचार, संघर्ष र योगदानको जीवन्त दस्तावेज पनि हो। कुनै व्यक्ति आफ्नो जीवनकालमा कति पदमा पुग्यो वा कति प्रतिष्ठा कमायो भन्नेभन्दा उसले समाजलाई कति बदल्न सक्यो भन्ने कुराले उसको वास्तविक उचाइ निर्धारण गर्छ। यही कसौटीमा हेर्दा श्रीकान्त अधिकारी नेपाली समाजका एक दूरदर्शी, साहसी र परिवर्तनकारी व्यक्तित्वका रूपमा स्मरणीय हुनुहुन्छ। उहाँको स्मृति दिवस केवल श्रद्धाञ्जली अर्पण गर्ने दिन होइन, उहाँले देखाउनुभएको सामाजिक रूपान्तरणको बाटो र अधुरा सपनालाई पुनः स्मरण गर्ने अवसर पनि हो।
वि.सं. १९८४ जेठ १३ गते लमजुङको दुराडाँडा स्वाँरामा पिता हरिदास अधिकारी र माता इन्दुमायाँ अधिकारीका सुपुत्रका रूपमा जन्मिनुभएका श्रीकान्त अधिकारीको जीवन राजनीतिक चेतना, सामाजिक विद्रोह, शैक्षिक अभियान र सामूहिक विकासको अनुपम संगम थियो। जयतु संस्कृतम् आन्दोलनबाट उहाँमा राजनीतिक चेतनाको बीजारोपण भएको थियो। बनारसमा रहँदा कृष्णप्रसाद भट्टराई, बीपी कोइराला, सुवर्णशमशेर राणा र सूर्यप्रसाद उपाध्यायलगायतका नेताहरूसँगको संगतले उहाँको राजनीतिक विचार र सामाजिक दृष्टिकोणलाई थप परिपक्व बनायो। तर उहाँको चेतना व्यक्तिगत राजनीतिक भविष्य निर्माणमा मात्र सीमित रहेन। उहाँले सिकेको विचार र अनुभव आफ्नै गाउँ, समाज र राष्ट्रको परिवर्तनमा लगाउनुभयो।
हलोक्रान्ति ः जातीय विभेदविरुद्ध साहसिक विद्रोह
श्रीकान्त अधिकारीको जीवनको सबैभन्दा ऐतिहासिक र परिवर्तनकारी पक्षमध्ये एक वि.सं. २००६ साउन ११ गते दुराडाँडाको अर्चल्यानीस्थित बाटेगरामा भएको हलोक्रान्ति हो। उहाँसहित २७ जना अग्रजले हलो जोतेर तत्कालीन समाजमा विद्यमान जातीय विभेद, श्रमप्रतिको हेपाहा दृष्टिकोण र सामाजिक रूढीविरुद्ध विद्रोह गर्नुभयो।त्यतिबेला ब्राह्मण समुदायका व्यक्तिले हलो जोत्नुलाई सामाजिक प्रतिष्ठाविरुद्धको काम मानिन्थ्यो। यस्तो मान्यतालाई चुनौती दिँदै हलो समात्नु सामान्य कृषि कर्म थिएन, त्यो सामाजिक समानता र श्रमको सम्मानका पक्षमा गरिएको वैचारिक क्रान्ति थियो।
बलरामको हलोको प्रतीकात्मक शक्तिलाई सामाजिक परिवर्तनको अस्त्र बनाउने उहाँहरूको साहसले नेपाली समाजमा नयाँ बहस जन्मायो। जातका आधारमा श्रमलाई सानो–ठूलो ठान्ने प्रवृत्तिविरुद्धको त्यो अभियान आज पनि सामाजिक न्यायको इतिहासमा महत्त्वपूर्ण छ। हलोक्रान्तिले दिएको सन्देश स्पष्ट थियो—मानिसको सम्मान उसको जातले होइन, कर्म र मानवीय मूल्यले निर्धारण गर्नुपर्छ।
शिक्षाको जगबाट गाउँ बदल्ने सपना
श्रीकान्त अधिकारीको अर्को महान् योगदान शिक्षा विस्तार हो। उहाँले विकासको पहिलो आधार शिक्षा हो भन्ने बुझ्नुभएको थियो। त्यसैले २००७ सालको राजनीतिक परिवर्तनपछि उहाँले आफ्नो ऊर्जा गाउँको शैक्षिक र सामाजिक विकासमा लगाउनुभयो।वि.सं. २००८ सालमा दुराडाँडा क्षेत्रका विभिन्न १२ स्थानमा प्राथमिक विद्यालय स्थापना गर्न उहाँले नेतृत्वदायी भूमिका निर्वाह गर्नुभयो। २००९ सालमा सर्वोदय विद्यालय स्थापना गरेर ग्रामीण क्षेत्रमा शिक्षाको पहुँच विस्तार गर्नुभयो। पोखराको पृथ्वीनारायण कलेज स्थापनामा पनि उहाँको महत्त्वपूर्ण योगदान रह्यो। पचभैयामा अमरसिद्ध नमुना माध्यमिक विद्यालय निर्माण तथा विकासमा उहाँको अग्रसरता स्मरणीय छ।
उहाँको शैक्षिक अभियानको एउटा महत्त्वपूर्ण अध्याय पाणिनि संस्कृत माध्यमिक विद्यालय तथा गुरुकुल आश्रमको स्थापना हो। संस्कृतज्ञ पण्डित बद्रीनाथ सुवेदीले संस्कृत शिक्षाको विस्तारका लागि दुराडाँडालाई उपयुक्त भूमि ठानी श्रीकान्त अधिकारीलाई पत्र लेखेर अगुवाइ गर्न आग्रह गर्नुभएको थियो। त्यसपछि स्थानीय समुदायको सहभागितामा गुरुकुल आश्रम स्थापनाको बृहत् अभियान सुरु भयो।वि.सं. २०२६ मंसिरमा कीर्तिपुरस्थित ऐतिहासिक थलोमा पाणिनि संस्कृत माध्यमिक विद्यालय तथा गुरुकुल आश्रम सञ्चालनमा आयो। आश्रमअन्तर्गत गौशाला, उद्यान, हवनकुण्ड, पुराण वाचन मञ्च, वाचनालय र उपचार केन्द्रजस्ता संरचनाको परिकल्पना गरियो। स्थानीय श्रम, स्रोत र सहयोगबाट गुरु तथा विद्यार्थीका लागि पर्णकुटी निर्माण गरिए।आश्रम सञ्चालनका लागि सात जना अग्रजको सप्तऋषि मण्डल बनाइयो। सयौँ आमाहरूले प्रतिव्यक्ति १०८ रुपैयाँका दरले आर्थिक सहयोग गरे। उनीहरू ‘एक सय आठ आमाहरू’का रूपमा परिचित भए। देउसीभैलो, चन्दा अभियान र चतुर्वाहु चन्दा समूहदेखि अनेकौँ अग्रज तथा दाताको योगदानले यो अभियान संस्थागत रूप लिन सफल भयो। यसले श्रीकान्त अधिकारीको नेतृत्व व्यक्तिगत प्रयासभन्दा सामूहिक सहभागितामा आधारित थियो भन्ने प्रमाणित गर्छ।
राजनीति पदका लागि होइन, समाज परिवर्तनका लागि
श्रीकान्त अधिकारीले २००७ सालको प्रजातान्त्रिक आन्दोलनमा पश्चिमाञ्चल क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभयो। वि.सं. २०१५ मा सांसद निर्वाचित हुनुभयो। २०२१ सालमा लमजुङ जिल्ला पञ्चायत सभापति र २०३१ सालमा राष्ट्रिय पञ्चायत सदस्य बन्नुभयो।तर उहाँको राजनीतिक पहिचान पद र जिम्मेवारीमा मात्र सीमित थिएन। शिक्षा, कृषि, सामाजिक सुधार, स्थानीय सहभागिता र ग्रामीण विकास उहाँका प्राथमिकताका विषय थिए। उहाँले राजनीतिलाई जनताको जीवनस्तर परिवर्तन गर्ने माध्यमका रूपमा बुझ्नुभयो। उहाँको पुस्तक ‘राजनीति ः एक सिद्धान्त’ मा अभिव्यक्त विचारले पनि उहाँको राजनीतिक दर्शन र राष्ट्र निर्माणप्रतिको दृष्टिकोणलाई बुझ्न सहयोग गर्छ।दुराडाँडा होस्, पोखराको पचभैया होस् वा काठमाडौंको धापासी, जहाँ रहे पनि समाजसँग जोडिएर सामाजिक चेतना र विकासका कुरा फैलाउनु उहाँको विशेषता थियो।
विचार अझै बाँकी छ
वि.सं. २०६९ कार्तिक ३० गते भाइटीकाको दिन उहाँले भौतिक संसारबाट बिदा लिनुभयो। उहाँको निधनपछि दुराडाँडाले एउटा अभिभावक र दूरदर्शी अगुवा गुमाएको अनुभूति गर्योट। तर उहाँले रोपेको शैक्षिक चेतना, सामाजिक समानताको विचार र सामूहिक विकासको अभ्यास अझै जीवित छन्।दूरद्रष्टा श्रीकान्त अधिकारी प्रतिष्ठानले उहाँको स्मृतिमा हरेक भाइटीकाका दिन पाणिनि गुरुकुल आश्रमलाई ५१ हजार १०८ रुपैयाँ सहयोग गर्ने अभियान सुरु गरेको छ। यो चौथो वर्षसम्म निरन्तरता पाउनु उहाँप्रतिको सम्मान मात्र नभई उहाँले स्थापना गर्नुभएको शैक्षिक अभियानलाई जीवित राख्ने सकारात्मक प्रयास हो। प्रतिष्ठानकी अध्यक्ष तथा संस्थाकी अभिभावक गायत्री अधिकारीसहित पदाधिकारी र सहयोगीहरूको योगदान यस अभियानका लागि प्रेरणादायी छ।आजको पुस्ताले श्रीकान्त अधिकारीलाई केवल इतिहासका एक राजनीतिकर्मीका रूपमा होइन, सामाजिक विभेदविरुद्ध विद्रोह गर्ने साहसी अभियन्ता, शिक्षाको उज्यालो फैलाउने दूरदर्शी योजनाकार र सामूहिक विकासका प्रवर्तकका रूपमा बुझ्न आवश्यक छ।
अन्ततः श्रीकान्त अधिकारीको वास्तविक स्मारक कुनै भवन, शिलालेख वा वार्षिक स्मृति कार्यक्रम मात्र होइन। उहाँले उठाउनुभएको समानता, शिक्षा, श्रमको सम्मान, सामाजिक न्याय र सामूहिक विकासको अभियान नै उहाँको जीवन्त स्मारक हो।व्यक्ति मर्छ, तर विचार मर्दैन। समय बित्छ, पुस्ता फेरिन्छन्, तर समाज बदल्ने महान् कर्म इतिहासमा अमर रहन्छन्। श्रीकान्त अधिकारी त्यस्तै व्यक्तित्व हुनुहुन्छ, जसको जीवनबाट आजको पुस्ताले सिक्नुपर्ने पाठ अझै धेरै छन्।दूरदर्शी समाजसेवी, शिक्षाप्रेमी तथा परिवर्तनका अग्रदूत स्वर्गीय श्रीकान्त अधिकारीप्रति भावपूर्ण श्रद्धाञ्जली !