काठमाडौं, २७ असार । देशमा विदेशी मुद्राका कारण आर्थिक संकट पर्न जानसक्ने विज्ञहरुको भनाई आइरहेको बेला सरकारले झण्डै अर्ब बराबरको रकम खर्चेर प्रहरीलाई प्रतिबन्धित पुराना हतियार खरिद गर्ने प्रक्रिया अगाडी बढाएको पाइएको छ ।
नेपाल प्रहरीलाई करिब एक अर्ब बढी रकमका हतियार खरिदका लागि सरकारले प्रक्रिया अघि बढाएको पाइएको छ । स्रोतले दिएको जानकारीअनुसार इटलीको बेरेटा कम्पनीसँग हतियार खरिदको तयारी गरिएको छ । त्यसका लागि बजेट अन्य स्रोतबाट रकमान्तर पनि गरिसकिएको छ । नेपाल प्रहरी स्रोतले दिएको जानकारीअनुसार यही महिनाको अन्त्यमा हतियार खरिदका लागि प्रतीतपत्र खोल्ने तयारी छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको दबाबमा अर्थमन्त्री जनार्दन शर्माले जाँदाजाँदै रकमान्तर गरेर हतियार किन्ने निर्णय भएको स्रोत बताउँछ । स्रोतले दिएको जानकारीअनुसार ११५० थान १२ बोरका बन्दुक, एक हजार थान एमएमको पेस्तोल खरिदको तयारी गरिएको छ ।
प्रहरीका एक उच्च अधिकारीले दिएको जानकारीअनुसार प्रहरीलाई आवश्यक हतियार किन्न लागिएको छ ।
तर विज्ञका अनुसार प्रहरीले किन्न लागेको १२ बोरको बन्दुक सहरी क्षेत्रमा चलाउन र प्रयोग गर्न प्रतिबन्ध छ । यसमा व्यापारी दीपक भट्टको इन्फिनिटी होल्डिङ्स् र त्यस अन्तर्गतको अर्को कम्पनीमार्फत किन्न लागिएको छ ।